खाली सिलिन्डर बोकेर ग्यासको लाइनमा बस्नेहरूको सङ्ख्या बढ्दो
९ मङ्सिर/वीरगंज – वीरगंजस्थित नेशनल ट्ेरडिङ लिमिटेडअगाडि बुधवार पनि ग्यास पाउने आशामा मानिसहरू ठूलो सङ्ख्यामा लाइनमा बसे ।
सरकारले विभिन्न ग्यास उद्योगका सिलिन्डरमा आधा अर्थात् ७.१ किलो ग्यास उपलब्ध गराउँदै आएकोमा पछिल्लोपटक मङ्सिर ७ गते सोमवार नेपाल ग्यास वितरण गरेको थियो । नेपाल ग्यास वितरणपछि अब वितरण हुने बेला कूपनको आधारमा नभई लाइनको आधारमा ग्यास दिने भन्ने हल्ला चलेपछि उपभोक्ताहरू कूपनबिना नै खाली सिलिन्डर लिएर लाइनमा बसेका हुन् ।
सोमवार रातिदेखि ग्यास पाउने आशमा उपभोक्ताहरू लामबद्ध छन् । सोमवार राति करिब ६० जना उपभोक्ता अबेर रातिसम्म खाली सिलिन्डर लिएर लामबद्ध थिए ।
मनोज ग्यास वितरण हुने हल्लासँगै म·लवार बिहान पनि उपभोक्ताहरू खाली सिलिन्डर लिएर लामबद्ध भए तर ग्यास वितरण भएन । मनोज ग्यास उद्योगले तत्काल ग्यासको बुलेट नआएको र वितरणको योजना नभएको विभिन्न माध्यमबाट स्पष्ट पारे पनि मानिसहरू खाली सिलिन्डर लिएर लाइनमा बस्न छाडेका छैनन्।
बुधवार पनि मनोजका खाली सिलिन्डर लिएर सयौं उपभोक्ताहरू लाइनमा बसेका छन् । उपभोक्ताको लाइन आधा किलोमिटरभन्दा बढी छ । खाली सिलिन्डरमा फलामे चैन र डोरीले बाँधेर मानिसहरू सडकमा लामबद्ध भए तर बुधवार पनि ग्यास उपलब्ध भएन ।
नेशनल ट्ेरडिङबाट यसअघि मनोज ग्यासले दुईपटक, बारा, सुपर र नेपालले एक/एकपटक आआफ्नो उपभोक्ताहरूलाई ७.१ किलो तौलको ग्यास रु. ६९० को दरले बिक्री गरिसकेका छन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस