एक दशकपछि ठोरीमा बल्ल बिजुली बल्यो
ठोरी, २२ पुस/
विद्युतीय सेवा पुग्न नसकेको पर्सा जिल्लाको एकमात्र गाविस ठोरीमा एक दशकपछि शुक्रवारदेखि बत्ती बलेको छ ।
भारतीय दूतावासको आर्थिक सहयोगमा पर्साको ठोरी र निर्मलबस्ती गाविसमा आर्थिक वर्ष २०६३/०६४ मैं विद्युतीकरणको काम शुरू भएपनि ठोरीमा भने शुक्रवारदेखि औपचारिकरूपमा बिजुलीबत्ती बलेको हो । निर्मलबस्ती गाविसमा भने चार वर्ष पहिले नै बिजुलीबत्ती बलेको थियो ।
शुक्रवार ऊर्जामन्त्री जनार्दन शर्माले औपचारिकरूपमा विद्युतीकरणको उद्घाटन गरेपछि ठोरीका स्थानीयको घरघरमा बिजुलीबत्ती बलेको हो । ठोरीको सरस्वती चोकमा शुक्रवार आयोजित कार्यक्रममा ऊर्जामन्त्री शर्माले स्वीच थिचेर विद्युतीकरणको उद्घाटन गरेपछि स्थानीय महिला र पुरुषहरू कार्यक्रमस्थलमैं खुशीले नाचेका थिए । गाउँमा विद्युत् पोल गाडेर तार झुन्ड्याएको १० वर्ष भइसकेको थियो, ठोरी–३ का प्रेमबहादुर कँुवरले भने, आज बल्छ भोलि बल्छ भन्दै १० वर्षसम्म कुर्नुप¥यो, तर १० वर्षदेखिको धोको बल्ल आज पूरा भयो, अब बल्ल हामी पनि यो देशको नागरिक हौं भन्ने अनुभूति गरिरहेका छौं । ठोरी गाविसमा कुल १,३८९ घरधुरी छन् । तर पहिलो चरणमा शुक्रवारदेखि ३८० घरधुरीमा मात्रै बिजुलीबत्ती बालिएको छ ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठोरीमा बाँकी रहेका घरधुरीमा बिजुलीबत्ती छिट्टै बाल्ने प्रतिबद्धता जनाए । ठोरी गाविसमा विद्युतीकरण परियोजना अन्तर्गत जडान गरिएका ट्रान्सफर्मरमा गत मङ्सिर २२ गते बत्ती बालेर परीक्षण गरिएको थियो । त्यसपछि प्राधिकरणले पहिलो चरणमा ३८० घरधुरीमा विद्युतीय मिटर जडान गरेको र शुक्रवारदेखि औपचारिकरूपमा बिजुली बल्न शुरू भएको स्थानीय शिक्षक अनन्त श्रेष्ठले बताए ।
भारत सरकारको आर्थिक सहयोगमा निर्मलबस्ती र ठोरी गाविसमा आर्थिक वर्ष २०६३/६४ मैं निर्मल–ठोरी विद्युतीकरण परियोजना शुरू गरिएको थियो । निर्मलबस्ती गाविसको परियोजना सकेर ठोरीमा आइपुगेको विद्युतीकरण परियोजनाको काम २०६८ सालमा भारतीय सुरक्षा फौज एसएसबीको अवरोधको कारण दुई वर्षदेखि रोकिएको थियो । भारतीय एसएसबीले विद्युत्को पोल गाड्न खोजिएको ठोरीको सेते डाँडा र ठुटे खोला छेउको जग्गा भारतीय भूमिमा परेको भन्दै पोल गाड्न र तार झुन्डयाउन अवरोध गरेको थियो । दुवै देशका अधिकारीबीचको छलफलमा एसएसबीले दाबी गरेको स्थानभन्दा पाँच सय मिटर टाढा नेपालतर्पmको भूमिबाट पोल गाड्न नेपाली पक्ष सहमत भएपछि पुनः ठोरीमा विद्युतीकरण परियोजना सुचारु भएको थियो । त्यसपछि विद्युत् प्राधिकरणले पनि वास्ता नगरेपछि विद्युतीकरणको काम फेरि केही समय रोकिएको थियो । ठोरीमा सक्रिय राजनीतिक दल सम्मिलित प्रतिनिधिमण्डलले पटकपटक ऊर्जा मन्त्रालयमा गएर गुहारेपछि गत भदौदेखि फेरि विद्युतीकरण परियोजनाले तीव्रता पाएको र ठोरीमा बिजुलीबत्ती बाल्ने १० वर्षदेखिको सपना शुक्रवार साकार भएको स्थानीय सर्वदलीय संयन्त्रका संयोजक रामप्रकाश कँुवरले बताए ।
कार्यक्रममा ऊर्जामन्त्री शर्माका साथै ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, ऊर्जा मन्त्रालयका सचिव एवं नेपाल विद्युत् प्राधिकरणका अध्यक्ष अनुप उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख पद्मकान्त झा, प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख चुटन श्रीवास्तव, पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, पूर्व स्थानीय विकासमन्त्री उर्मिला अर्याललगायतको सहभागिता थियो ।
प्रतीककर्मी लामा सम्मानित
प्रस, वीरगंज, २२ पुस/ प्रतीक दैनिक ठोरीका संवाददाता प्रेम लामा शुक्रवार सम्मानित भएका छन् । ठोरीको सरस्वती चोकमा शुक्रवार आयोजित ग्रामीण ठोरी विद्युतीकरणको औपचारिक समुद्घाटन कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माबाट लामा सम्मानित भएका हुन् । ठोरीको विद्युतीकरण कार्यलगायत अन्य क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै लामा सम्मानित भएका हुन् ।
लामासँगै ठोरीका पत्रकार सन्तोष देउजा, ठोरीको विद्युतीकरण अभियन्ता आशबहादुर गुरुङलगायत पनि सम्मानित भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस