इन्धन, ग्यास सहज नभएको भन्दै मोर्चाद्वारा ज्ञापन
वीरगंज, २९ माघ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । मधेस आन्दोलनको क्रममा ६ महिना आन्दोलन र ५ महिना नाकाबन्दी गरेको मोर्चाले नाकाबन्दी हटाएको घोषणा गरेको आज सातौं दिन स्थानीयवासीलाई इन्धन, ग्यास सहजरूपमा आपूर्ति गर्न माग गर्दै जिप्रका पर्सामा ज्ञापन बुझाएको हो । मोर्चाले नाकाबन्दी हटाएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि सर्वसाधारणले सहजरूपमा पेट्रोल, डिजल, मटीतेल र खाना पकाउने ग्यास नपाएको र अहिले पनि कालोबजारी तथा तस्करी कार्य भइरहेकोमा स्थानीय प्रशासन मूकदर्शक बनेको भन्दै आपत्ति व्यक्त गरेको छ ।
स्थानीय प्रशासनले पर्सेली जनतालाई सहजरूपमा इन्धन र ग्यासको आपूर्ति नगरे रक्सौल नाकाबाट भित्रिने टयाड्ढर र ग्यासका बुलेटलाई अवरोध गर्ने मोर्चाले ज्ञापनमार्फत् चेतावनी दिएको छ ।
ज्ञापनपत्रमा सङ्घीय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष प्रदीप यादव, तमलोपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा, सद्भावनाका अध्यक्ष इमदाद गद्दी, तराई–मधेस सद्भावना पार्टी पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहाले हस्ताक्षर गरेका छन् ।
ज्ञापन सङ्घीय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष यादवले प्रजिअ घिमिरेलाई बुझाएका थिए ।
ज्ञापन बुझ्दै घिमिरेले इन्धन र ग्यासको सहज आपूर्तिको लागि प्रयास गरिरहेको र केही दिनमैं सहज हुने आश्वासन दिएका थिए ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस