Birgunj News

इन्डक्सनको बिक्रीबाट वीरगंजका इलेक्ट्रिक पसलहरूले राहत पाए

२९ कात्तिक/वीरगंज – वीरगंजमा आन्दोलनरत मधेसी मोर्चाले गरेको आम हडताल, नाकाबन्दी र प्रशासनले गरेको निषेधाज्ञा र कफ्र्युबाट प्रभावित स्थानीय व्यापारीमध्ये इलेक्ट्रिक पसलेहरूले राहत पाएका छन् ।

नाकाबन्दी भएपछि वीरगंजलगायत देशभरमा पेट्रोलियम पदार्थ र ग्याँसको अभाव भएपछि भारतमा उत्पादित इन्डक्सन अहिले व्यापक बिक्रीमा आएपछि इलेक्ट्रिक व्यापारीहरूले राहत पाएका हुन् ।

वीरगंजको माईस्थानदेखि गीता मन्दिरसम्म रहेका इलेक्ट्रिक पसलहरूमा अहिले एक महिनादेखि इन्डक्सन व्यापक बिक्री भइरहेको छ । वीरगंजभन्दा पनि राजधानीमा इन्डक्सन गइरहेको स्थानीय व्यापारीले बताए । उनले तीन महिनाको आन्दोलनमा भएको व्यापार घाटालाई इन्डक्सनको बिक्रीले केही राहत दिएको प्रतिक्रिया दिए । वीरगंजमा अहिले प्रेस्टिज, म्याच पावर र साइनस्टार कम्पनीका १२ सयदेखि दुई हजार भोल्टको इन्डक्सनहरू न्यूनतम ३५ सयदेखि साढे ६ हजारसम्म बिक्री भइरहेको छ ।

नाकाबन्दीको कारण वीरगंजमा स्थानीय क्यारियरमार्फत् इन्डक्सन चोर बाटोबाट भित्रिरहेको छ । मूल बाटो नाकाबन्दीको कारण प्रभावित भएको र सामान ल्याउन सक्ने अवस्था पनि नभएपछि चोर बाटोबाट क्यारियरमार्फत् स्थानीय व्यापारीहरूले इन्डक्सन भित्र्याइरहेका छन् र बिक्री गरिरहेका छन् । भन्सार बन्द भएको कारण मूल बाटो भएर सामान आउन नसकेको र उपभोक्ताको अत्यधिक माग भएको कारण यसो भइरहेको व्यापारीहरूको भनाइ छ । वीरगंजभन्दा पनि भैरहवा नाकाबाट माल सामान भित्रिइरहेको हुँदा इन्डक्सनको खपत त्यहाँबाट राजधानीमा व्यापक भइरहेको छ ।

वीरगंजमा बस्ने र राजधानीमा आफन्त भएकाहरूले इन्डक्सन चुलो खरिद गरी लैजाने गरेका छन् । विद्युत्बाट आधा घण्टाको अवधिमा दाल, भात, तरकारी तयार हुने र विद्युत अवधिमा सबैथरीको परिकार पकाउन सजिलो भएकोले अहिले पेट्रोलियम पदार्थ र ग्याँसको हाहाकार भएको अवस्थामा इन्डक्सनको माग बढी भएको हो । इन्डक्सनको आपूर्तिसँगै भारतबाट चोरी भई आउने ग्याँस चार हजार पुगेकोमा अहिले सिलिन्डरको २८ सय भएको छ ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button