Birgunj News

आयोजक बेपत्ता भएपछि सहभागीहरू निराश

वीरगंज, ४ पुस – विद्यालयका बालबालिकाहरूको लागि मेराथन दौड आयोजनाकर्ता नै बेपत्ता भएपछि मैदानमा पुगेका मेराथन धावक विद्यार्थीहरू अन्योलमा परे।

एमनेस्टी इन्टरनेशनल गु्रप, वीरगंज–१६ नाम उल्लेख भएको संस्थाले कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको लागि शनिवार मेराथन दौड प्रतियोगिता आयोजना हुने घोषणा गरेको थियो ।

वीरगंज नगर क्षेत्रका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयका छात्र छात्राहरूले प्रतियोगितामा भाग लिन फाराम भरेबापत जनही एक सय रुपैयाँ बुझाइसकेका थिए ।

घण्टाघर, चौकबाट नयाँ बसपार्क, प्रतिमा चौक पावरहाउ चोक हुँदै पुन: घण्टाघर चोकमा आइपुग्नुपर्ने भनिएको मेराथन प्रतियोगितामा प्रथम हुनेलाई तीन हजार रुपैयाँ, दोस्रोलाई दुई हजार रुपैयाँ र तेस्रो हुनेलाई एक हजार रुपैयाँ नगद पुरस्कार आयोजकले घोषणा गरेको थियो।

तयारी साथ निर्धारित समय बिहान ६:३० बजे घण्टाघर चोक पुगिसकेका सयौं विद्यार्थीहरू आयोजकको अत्तोपत्तो नभएपछि अलमलमा परे।

निर्धारित समय सकेको दुई घण्टापछिसम्म कतिपय छात्रछात्राहरू आयोजकको बाटो हेर्दै घण्टाघरमा बसेका थिए। फाराम भरेका विद्यार्थीहरूको सम्पर्क नम्बर आयोजकले लिएको भए तापनि कसैलाई पनि फोन नआएको उनीहरूले बताए । उनीहरूले भरेको फाराममा पनि आयोजकको सम्पर्क नम्बर र हस्ताक्षरसमेत थिएन। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उत्साहका साथ मैदानमा पुगेका बालबालिकाहरू आखिरमा निराश भएर घर फर्केका पर्सा जिल्ला एथलेटिक्स प्रशिक्षक विश्वेश्वर पटेलले बताए।

आयोजकले ससाना बालबालिकालाई धोखा दिएको भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा पनि अपुष्ट जानकारी आएको र भएको के हो ? कुनै अमुक आयोजकले विद्यालयमा आएर फाराम भर्दासमेत विद्यालयले के हेरिरहेको थियो ? भन्नेबारे सम्बन्धित विद्यालयसँग बुझेर कारबाई अगाडि बढाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय पर्साका एक अधिकारीले प्रतीकलाई बताएका छन्।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button