Birgunj News

आन्दोलन कडा गर्ने गठबन्धनको निर्णय

वीरगंज, १७ पुस – सङ्घीय समावेशी मधेसी गठबन्धन, पर्साको शुक्रवार सम्पन्न बैठकले आन्दोलनलाई थप सशक्त बनाउने
निर्णय गरेको छ । सो निर्णय अनुसार शनिवार मसाल जुलुस र आइतवारदेखि आम हडताललाई थप कडाइ गर्ने निर्णय भएको गठबन्धनले जानकारी गराएको छ ।
गठबन्धनका जिल्ला संयोजक शरीफ अहमदको अध्यक्षतामा बसेको बैठकले आइतवारदेखि बजार, उद्योग, कलकारखाना तथा साना ठूला सबै सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको सहभागीहरूले बताए ।

बैठकले साझा माग राखी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग जिल्लास्तरमा वार्ता गर्ने निर्णय पनि गरेको छ । वार्ताको जिम्मा रोशन पटेललाई दिइएको छ । पटेलको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको गठबन्धनले जनाएको छ । बैठकमा आम हडतालको १४१ दिन र नाकाबन्दीको १०१ दिनको पनि समीक्षा गरिएको थियो ।

गठबन्धनका नेता शिव पटेलले साउन ३० गतेदेखि शुरू भएको आम हडतालको तीन महिनापछि सञ्चालनमा आएका विद्यालयहरूको शुल्कबारे बैठकमा मुद्दा उठाएका थिए ।

विद्यालयहरूले विभिन्न बहानामा अभिभावक र विद्यार्थीलाई शुल्कको लागि ताकेता गरिरहेको भन्दै बैठकले आपत्ति जनाएको छ । परीक्षामा बस्न नदिने धम्की दिंदै विद्यालयहरूले शुल्क उठाउन थालेका हुँदा त्यस्ता विद्यालयहरूलाई कडा चेतावनी दिने निर्णय भएको गठबन्धनका नेता पटेलले जानकारी गराएका छन् ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button