Birgunj News

आन्दोलनले थलिँदै मधेस

वीरगन्ज – वीरगन्ज घटनापछि मधेसी मोर्चाले आन्दोलन झनै कडा बनाउने बताएका छन्। प्रहरीको गोली लागेर सोमबार एक भारतीय नागरिकको ज्यान गएको र दर्जनौं आन्दोलनकारीमाथि कुटपिट भएपछि आन्दोलन कडा बनाउने निर्णयमा पुगेका हुन्। मोर्चाले सकारत्मकरुपमा अघि बढिरहेको वार्तालाई सरकारले लत्याउँदै आन्दोलनप्रति गम्भीर नदेखिएको आरोपसमेत लगाएको छ।

‘सरकारले एकातिर वार्ताको नाटक गरिरहेको छ। अर्कोतिर आन्दोलनकारीमाथि दमनसमेत गरिरहेको छ,’ तराई मधेस सद्भारवना पार्टीका नेता एवं वार्ता टोलीका सदस्य रामनरेश राय यादवले भने, ‘अब वार्ताको कुनै औचित्य छैन। सरकार मधेसीको मागप्रति एकरत्ती गम्भीर छैन।’ पछिल्लो पटक भएको सरकार र मोर्चाबीचको वार्ता उपलब्धिमूलक भएको दुबै पक्षका सदस्यहरुले बताएका थिए। तर आन्दोलनकारीमाथि गोली प्रहार गरेर वार्ताको वातावरण सरकारले नै बिगारेको यादवले बताए।

नयाँ संविधानमा सीमांकनलगायतका विषयमा असन्तुष्टि जनाउँदै विगत ८२ दिनदेखि तराई-मधेस केन्द्रीत दलहरु आन्दोलनरत छन्। आन्दोलनले तराईका सबै जिल्ला प्रभावित बनेको छ। पर्सादेखि सप्तरीसम्मको स्थिति झनै खराब बनेको विश्लेषकहरु बताउँछन्। ‘अहिलेको स्थितिलाई सामान्य बनाउन सरकारले अविलम्ब मोर्चासँगको वार्तालाई निरन्तरता दिनुपर्छ,’ मधेस मामिसलामा दख्खल राख्ने पत्रकार चन्द्रकिशोर भन्छन्, ‘त्यतिले मात्र पुग्दैन। चरम आर्थिक मारमा परेका नेपालीलाई न्युनतम अवस्था परिपूर्ति गर्ने व्यवस्था पनि गरिनुपर्छ।’

चाडपर्वको बेला आन्दोलनकारीले बन्द खुकुलो पारेपनि महिनौं दिनको बन्दले तराईका जिल्लामा आर्थिक संकट उत्पन्न भएको छ। महँगीसँगै तराईमा ब्यापक कालोबजारी भइरहेको छ। किसानहरुले खेत जोत्नस पाएका छैनन्। यसले उत्पादनमा ठूलो ह्रास आउने झाको दाबी छ। ‘आन्दोलनसँगै महँगी र कालोबजारी त बढेकै छ। त्यसमाथि किसानहरुलाई ठूलो संकट परेको छ। उनीहरुले न धानबाली भित्र्याउन सकेका छन्। न बाँझो खेत जोतेर गहुँ, मकै नै लगाउन सकेका छन्,’ पत्रकार झा बताउँछन्।

मोर्चाका नेताहरुले तराई मधेसका जिल्लाको मुख्य नाकाहरुमा धर्ना बसेका छन्। जसका कारण भारतबाट आउने मालसमानहरु आयात हुन सकेको छैन। छोटी नाकाबाट भने ब्यापक तस्करी भइरहेको आन्दोलनकारी स्वयंले स्वीकारेका छन्। उनीहरुले ती नाकाबाट भइरहेको डिजेल, पेट्रोल, कपडा, खाद्यान्न लगायतका तस्करीहरु नियन्त्रणमा लिएर नस्ट गरिरहेका छन्।

आन्दोलनले तराईका उद्योग कलकारखनाहरु पूर्णरुपले ठप्प छ। विद्यालयहरु खुल्न नसक्दा लाखौं विद्यार्थी पढाइबाट वञ्चित भएका छन्। बजार र वित्तीय संस्था नखुल्दा ब्यापारीहरु मर्कामा परेको उद्योग वाणिज्य महासंघका धरमनाथ जैसवालले बताए। ‘महिनौंदेखिको बन्दले देशमा चरम आर्थिक संकट उत्पन्न हुनेछ,’ जैसवालले भने, ‘ब्यापार शून्य हुँदा उद्योगी व्यवसायीहरु ऋणको भारमा पर्ने पक्का छ।’
-Nagariknews-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button