आन्दोलनरत दुवै मोर्चाद्वारा मोटरसाइकल र्याली
वीरगंज, १० भदौ – सङ्घीय समावेशी मधेसी मोर्चाले बिहीवार मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । वीरगंज घण्टाघर चोकबाट शुरु भएको र्याली वीरगंज नगरका विभिन्न क्षेत्र परिक्रमा गर्नुका साथै बहुअरी र परवानीपुरमा समेत विरोध प्रदर्शन गरी पुन: घण्टाघर चोकमा आएर सभामा परिणत भएको थियो ।
सभालाई नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेल, राष्ट्रिय मधेस समाजवादी पार्टीका युवा नेता राजेशमान सिंह, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादव, नेकपा माओवादीका केन्द्रीय सदस्य छोटेलाल यादव, पृथ्वी समूहका महाराज यादवलगायतले सम्बोधन गरेका थिए ।
सभाका वक्ताहरूले सरकारद्वारा घोषित कफ्र्यु र निषेधाज्ञा उल्लङ्घन गर्न आन्दोलनकारीहरूलाई आग्रह गरे । उनीहरूले सरकारले दमनको नीति अपनाएको भन्दै सो दमन नीतिलाई सघाउ पुर्याउने सवारीसाधनहरुमा समेत आगजनी गर्न बन्दकर्ताहरू पछाडि नहट्ने चेतावनी दिए ।
मोटरसाइकल र्यालीमा सहभागी प्रदर्शनकारीहरूले परवानीपुरस्थित डाबर नेपाल सञ्चालनमा रहेको भन्दै केही बेर ढु·ा, मुढा गरेका थिए । यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि मोटरसाइकल र्याली आयोजना गरे । घण्टाघर चोकबाट शुरु भएको मोटरसाइकल र्याली सुख्खा बन्दरगाह हुँदै बहुअरी पुगेर कोणसभा गरेको थियो । सो पश्चात् परवानीपुर हुँदै वीरगंज आइपुगेको थियो ।
मोर्चाले विभिन्न स्थानमा गरेको कोणसभामा सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सभासद् लक्षमणलाल कर्ण, सङ्घीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादव, सभासद्हरू लालबाबु राउत गद्दी, रमेश पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
-Prateek Dainik-
प्रतिक्रिया लेख्नुहोस