Birgunj News

आन्दोलनको ७३ औं दिन र नाकाबन्दीको ३३ औं दिन मितेरी पुलमा सरसफाइ तथा औषधि वितरण

९ कात्तिक/वीरगंज – मधेस आन्दोलनको ७३ औं र नाकाबन्दी ३३ औं दिन मितेरी पुलमा धर्ना आज पनि जारी छ । बारा र पर्साबाट आएका व्यक्तिहरू धर्नामा सहभागी भएका छन् । आज दिनभरि पार्टीको काम सकाएर साँझ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो धर्नास्थल पुगेका थिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मोर्चाको आह्वानमा मितेरी पुलमा भएको नाकाबन्दी
सफल बनाउन आज बारा जिल्लाको रामपुर टोकनी, भलुही टोलका नेपाल मुस्लिम रिलिफ सोसाइटीको अगुवाइमा विशाल जुलुस मितेरी पुलमा पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएको थियो ।

ट्रक, बसमा आएका बारावासीले मधेसको मागप्रति सरकार उदासीन भएको भन्दै अधिकार नपाएसम्म आन्दोलन जारी रहने दृढता प्रकट गर्दै नाराबाजी गरेका थिए ।

त्यसैगरी नाकाबन्दी स्थलमा बिहान विभिन्न किसिमको योगासन शुरु गरिएको थियो । धर्नास्थलमा निश्शुल्क औषधिसमेत वितरण भइरहेको छ । बढ्दो चिसोको कारण अहिले नाकाबन्दी स्थलमा बस्नेहरू समस्यामा परेका देखिन्छन् । गाउँ–गाउँबाट मानिसहरू झूल, ओढ्ने लिएर आउने गरेका देखिन्छन् ।

प्रस, रौतहट
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आयोजित आम हडतालको ७३ औ दिन आज सदरमुकाम गौरमा मोर्चाका नेतासहित कार्यकर्ताहरूले जुलुस प्रदर्शन गरेका छन् । मधेस क्रान्ति चोकबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै नेपाल–भारतमा जारी नाकाबन्दीमा सहभागी भएको थियो ।

मोर्चाका सयोजक रामनिवास यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव, मधेसी नेता अजयकुमार गुप्ता, तमलोपाका अनिल सिंहलगायत हजारौं कार्यकर्ताहरू जुलुस प्रदर्शन गर्दै नाकाबन्दीमा सहभागी भएको मोर्चाका संयोजक यादवले बताए ।

-Prateek Dainik-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button