आइतवारदेखि वीरगंजका विद्यालयहरू सञ्चालन, अभिभावक ढुक्क छैनन्, विद्यार्थीमा भय कायमै
५ मङ्सिर/वीरगंज – जारी मधेस आन्दोलनको क्रममा बन्द रहेका वीरगंजका निजी तथा सामुदायिक विद्यालय र कलेजहरू आइतवारदेखि सञ्चालनमा आउने भएका छन् ।
आन्दोलनरत दलहरूको केन्द्रीय निर्णयको आधारमा आन्दोलनको १०० दिनपछि मङ्सीर ६ गते आइतवारदेखि विद्यालयहरू सञ्चालन गर्ने तयारी भएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजधानीमा जारी गरेको छठपछिको आन्दोलनको तालिकामा जारी मधेस आन्दोलनका क्रममा बन्द रहेका विद्यालयहरू बिहानको समयमा सञ्चालन गर्न दिने निर्णय सार्वजनिक गरेको थियो । सोही बमोजिम शुक्रवार वीरगंजमा सम्पन्न मोर्चाका स्थानीय नेताहरूसँगको सकारात्मक छलफलपछि विद्यालय तथा उच्च विद्यालय एवं कलेजहरू सञ्चालन गर्ने निर्णयमा शिक्षालयका सञ्चालकहरू पुगेका हुन् ।
मोर्चाले बिहान ६ बजेदेखि ११ बजेसम्म विद्यालयहरू सञ्चालन गर्न दिने निर्णय सार्वजनिक गरेको थियो । मोर्चाले विद्यालय सञ्चालन गर्न दिंदा विद्यालयको बस प्रयोग गर्न नपाइने, विद्यार्थीहरूले विद्यालय पोशाक लगाएर विद्यालय जान नपाउने, विद्यालयमा कालो झन्डा राखेर पठनपाठन गराउनुपर्ने उर्दी जारी गरेको छ ।
विद्यालय आउने बालबालिकाहरूले बस प्रयोग गर्न नपाउने भएपछि अभिभावकहरूले नै विद्यालयसम्म ल्याउने र लैजाने कार्य गरिदिन जिल्लास्थित निजी विद्यालयहरूको छाता स·ठन प्याब्सनले आग्रह गरेको छ ।
विद्यालय तथा कलेजसम्म विद्यार्थीहरूलाई अभिभावकले नै पुर्याइदिनुपर्ने र घर लैजानुपर्ने भएपछि सो कुरालाई मध्यनजर गर्दै जिल्लास्थित आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अतिआवश्यक कामको लागि मोटरसाइकल सञ्चालन गर्न दिने भन्ने निर्णयसमेत शुक्रवार सार्वजनिक गरेको थियो ।
सङ्घीय समावेशी मधेसी मोर्चाले यसअघि नै विद्यालय सञ्चालनमा अवरोध गर्न नहुने तर्क अगाडि सार्दै आएको थियो ।
विद्यालय सञ्चालनको लागि आन्दोलनरत मोर्चा र विद्यालय सञ्चालकहरूबीच सहमति भएपछि शनिवार पनि वीरगंजका केही निजी विद्यालयहरू सञ्चालनमा आएका थिए । पाठ्यक्रमको कोर्ष पूरा गर्न समयाभाव हुने भएकोले शनिवार र सार्वजनिक बिदाको दिनसमेत विद्यालय सञ्चालन गर्नुपर्ने भएकोले त्यसो गरिएको सम्बद्ध विद्यालयहरूले जनाएका छन् ।
निजी विद्यालयहरूको संस्था प्याब्सन पर्साले भने पहिलो चरणमा आइतवारदेखि ५ देखि १० सम्मका कक्षा सञ्चालनमा ल्याउँदैछ । ससाना नानीहरू निर्धक्कसाथ विद्यालय जान सक्ने वातावरण अझै नभएको कारण पहिलो चरणमा यस्तो गरिएको प्याब्सनले जनाएको छ ।
दोस्रो चरणमा मङ्सिर ८ गतेदेखि नर्सरीदेखि १० सम्मका कक्षा सञ्चालन गर्ने भएको छ ।
मोर्चाले मङ्सिर ३ गते विद्यालय सञ्चालन सम्बन्धमा निर्णय गर्दै बिहानको समयलाई केही शान्तिपूर्ण बनाउने सङ्केत गरेको भएपनि ४ गते बिहानै वीरगंजको चोकचोकमा टायर बालेर बन्द, हडताल झन् कडा बनाएको थियो । केही स्थानमा मोटरसाइकल सञ्चालनमा समेत अवरोध गरी ८ वटाभन्दा बढी मोटरसाइकल तोडफोड गरिएको थियो ।
विद्यालय खुले पनि बालबालिकालाई विद्यालयसम्म पुर्याउने र ल्याउने वातावरण सहज नबनेकाले बालबालिकालाई विद्यालय कसरी पठाउने भन्ने चिन्तामा अभिभावकहरू छन् ।
अभिभावक सङ्घ पर्साका अध्यक्ष अमर गौतमले लामो समयसम्म बन्द विद्यालय, कलेजहरू खोल्ने मोर्चाको निर्णयको स्वागत गरे । तर उनले विद्यालय पठाउने र ल्याउने वातावरण बनिनसकेको प्रतिक्रिया दिए ।
अध्यक्ष गौतमले विद्यालय सञ्चालन गर्ने वातावरण तयार गरेका मोर्चाका नेता, कार्यकर्ताहरूलाई विद्यालय जाने बालबालिकाहरूमा मनोवैज्ञानिक भय तथा त्रास सृजना नहुने वातावरण बनाइ सहयोग गरिदिन अपिल गरेका छन् ।
शिक्षा पत्रकार अनन्तकुमारलाल दासले पनि विद्यालय खोलिनु सुखद भएको बताउँदै सहज सञ्चालनको वातावरण पनि आन्दोलनरत दलहरूले बनाइदिनेमा वीरगंजवासी आशावादी पाइएको बताए ।
बन्दको क्रममा घटेका घटनाहरूले मधेसका बालबालिकाको मनोबल खस्किएको हुँदा त्यसलाई उच्च बनाएर विद्यालय जाने वातावरण बनाउन समाजका सबै पक्ष लाग्नुपर्ने नागरिक अगुवाहरू बताउँछन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस