अस्पताल प्रशासनका प्रवक्ता र कर्मचारी युनियनका अध्यक्षबीच बाझाबाझ
वीरगंज, १० माघ – नारायणी उपक्षेत्रीय अस्पतालका प्रवक्ता रमेश चौधरीले अस्पताल सुधारका लागि कर्मचारी युनियन र राजनीतिक दल तगारो भएका आरोप लगाएका छन् भने अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष रामेश्वर कुर्मीले अस्पताल प्रशासनको कमजोरीको कारण अस्पतालमा सुधार हुन नसकेको बताएका छन् ।
रेडियो वीरगंजले आयोजना गरेको नाउक्षे अस्पतालसम्बन्धी कार्यक्रममा नाउक्षे अस्पतालका प्रवक्ता चौधरीले अस्पतालको सुधारका लागि पछिल्लो समयमा धेरै कामहरू भएको दाबी गरे । उनले औंलाले गन्ने गरी १० वटा काम भइसकेको र थुप्रै काम हुने प्रक्रियामा रहेको बताए । उनले डायलोसिस, एनआईसीयु सञ्चालन, सिटी स्क्यानलगायतका कामहरू अस्पतालले सञ्चालनमा ल्याएको तर विभिन्न कारणले राम्रा कामहरू गर्दा कर्मचारी युनियन तगारो हुने गरेको बताए । उनले अस्पताल प्रशासनले गरेका राम्रा कामहरूमा मात्र कर्मचारीहरूले सहयोग गरेको खण्डमा अस्पतालमा सुधार हुने दाबी गरे ।
अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष रामेश्वर कुर्मीले भने अस्पताल प्रशासन कर्मचारी भर्ना गर्ने भर्ती केन्द्रको रूपमा परिणत भएकोले सुधार हुन नसकेको बताए । उनले काम नगर्ने कर्मचारीहरूको हकमा प्रशासनले गर्ने कामकारबाईप्रति आफ्नो समर्थन रहने गरेको तर अस्पताल प्रशासनले पूर्वाग्रही तरिकाले काम गर्दै आएकोले आफूहरूले बाध्यात्मकरूपमा विरोध गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
नेपाल पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपालले अस्पतालले लामो समयसम्म पनि काँचुली फेर्न नसकेको बताए । उनले राजनीतिक नियुक्तिको कारण अस्पतालमा सुधारका कार्यहरू नभएको दाबी गरे । निजी क्षेत्रका प्रतिष्ठित व्यक्तिले अस्पताल विकास समितिको जिम्मेवारी सम्हाल्दा भएका सुधारका कार्यहरू अहिले आएर भताभु· अवस्थामा पुगेको बताए । उनले अस्पताल विकास समिति, अस्पताल प्रशासन र कर्मचारी सबैमा स्वार्थ लुकेकाले पनि अस्पताल सुधार हुन नसकेको बताउँदै अस्पताल सुधारका लागि इमानदार पहलको आवश्यकता रहेको बताए ।
केशव भण्डारीले सहजीकरण गरेको रेडियो कार्यक्रममा अस्पतालमा कार्यरत नर्सहरूको लागि तयार गरिएको ४८ कोठे दुईवटा ठूल्ठूला भवनमा विगत पाँच वर्षदेखि कर्मचारी तथा गैरकर्मचारीले कब्जा गरेको, औषधिपसलको भाडा असुली नभएको र औषधिपसल सञ्चालनमा पनि भेदभावपूर्ण व्यवहार भएको तथा बिरामीहरूलाई दिइने निश्शुल्क भोजनमा अनियमितता भएको आरोपहरू लगाइएको थियो ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस