Birgunj News

अभिभावक सङ्घ पर्साद्वारा प्याब्सन, एनप्याब्सनको निर्णयको विरोध

वीरगंज, २१ मङ्सिर – अभिभावक सङ्घ, नेपाल पर्साले आज विज्ञप्ति जारी गरी संस्थागत विद्यालयहरूले भदौदेखि मङ्सिरसम्मको चार महिनाको मासिक शुल्क माग गरेकोमा आपत्ति जनाएको छ ।सङ्घका अध्यक्ष अमर गौतमले विज्ञप्ति प्रकाशित गरी साउन २९ गतेदेखि बन्द रहेका विद्यालयहरू मङ्सिर ६ गते सञ्चालनमा आएको र सोही अवधिको मासिक शुल्क भुक्तानको लागि अभिभावकहरूसँग माग गरिनु गलत भएको भन्दै भत्र्सना गरेका छन् । उनले आन्दोलनरत दलहरूले समेत बन्द अवधिको मासिक शुल्क नलिन आह्वान गरेको सन्दर्भमा संस्थागत विद्यालयहरूको स·ठन प्याब्सन, एनप्याब्सनले अभिभावक तथा अभिभावक सङ्घसँग कुनै छलफल नगरेर एकतर्फी निर्णय गरेको हुनाले सम्पूर्ण अभिभावकहरूलाई अर्को निर्णय नहुन्जेलसम्म विद्यालयले माग गरेको मासिक शुल्क भुक्तान नगरी सहयोग गर्न आग्रह गरेको छ ।

सङ्घले जारी मधेस आन्दोनलको क्रममा प्याब्सन, एनप्याब्सनको ऐक्यबद्धता रहेको र यस क्रममा अभिभावकहरूसमेत आर्थिकरूपमा कमजोर भएको अवस्थामा बिनाछलफल एकतर्फी निर्णय गरिएकोले छलफलबाट समस्या समाधान नहुन्जेल भुक्तानी नगर्न आग्रह गरेको छ ।

मङ्सिर ६ गतेदेखि सञ्चालनमा आएको प्याब्सन, एनप्याब्सन सम्बद्ध संस्थागत विद्यालयका सञ्चालकहरूले गत बिहीवार भेला गरी बसभाडालगायत अतिरिक्त शुल्क नलिने तर मासिक शुल्क असुल गर्ने निर्णय गरे अनुरूप विद्यालयहरूले हिजोदेखि मासिक शुल्क भुक्तानीको लागि विद्यार्थीहरूलाई बिल थमाउन शुरु गरेको हो ।

यसैबीच हिसान, प्याब्सन, एन–प्याब्सन र संयुक्त मधेसी मोर्चाले आज संयुक्ता विज्ञप्ति प्रकाशित गरी विद्यार्थीहरूको मासिक शुल्कको सन्दर्भमा छलफल चलिरहेको र यस सम्बन्धमा छिटै निष्कर्ष निस्कने बताएको छ ।

हिसानका मनीष सिंह, प्याब्सनका इमामुद्दीन अहमद, एन–प्याब्सनका प्रेमप्रसाद यादव, विद्यार्थी मोर्चाका जशवन्त यादव तथा ठाराब क्याम्पसका आमोद यादवले संयुक्त विज्ञप्ति निकालेका हुन् ।

यसैबीच चेतनशील अभिभावक सङ्घ, पर्साले पनि विज्ञप्ति प्रकाशित गरी बन्द अवधिको शुल्क विद्यालयले लिने कुराको विरोध गरेको छ ।

सङ्घका अध्यक्ष द्विजेन्द्रकुमारी तिवारीले विज्ञप्ति जारी गरी बन्द अवधिमा बालबालिकाको पढाइ नभएकोले अभिभावकले यसै पनि नोक्सानी बेहोरिरहेको अवस्थामा बोर्डिङ स्कूलहरूले कामै नगरी शुल्क असुल्न खोज्नु व्यवहारस·त र कानूनसम्मतसमेत नभएको दाबी गरेकी छन् ।

बितेको सात महिनामा हालसम्म दुई महिना मात्रै पठनपाठन भएको भन्दै विद्यालयहरूको जोरजबरजस्ती शुल्क असुल्ने कार्यप्रति आन्दोलनरत मोर्चा, नागरिक समाज, विद्यार्थी स·ठनलगायत सबै पक्षले ध्यान दिन आग्रह विज्ञप्तिमा आग्रह गरिएको छ ।

राष्ट्रिय अभिभावक सङ्घ पर्साका अध्यक्ष कमलबहादुर पिठाकोठे मगरले पनि विज्ञप्ति जारी गरी बन्द अवधिको शुल्क लिने निर्णय यथाशीघ्र फिर्ता लिनुपर्ने माग गरेका छन् ।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button