अभिभावकको भेला सम्पन्न बन्द अवधिको शुल्क नतिर्ने निर्णय
वीरगंज, ४ पुस – चेतनशील अभिभावक सङ्घ पर्साले शनिवार नारायणी रङगशालामा अभिभावक भेला सम्पन्न गर्यो।
लामो समयसम्म विद्यालय बन्द अवधिको शुल्कबारे भेलामा छलफल भएको थियो ।मङ्सिर ६ गतेदेखि सञ्चालनमा आएका विद्यालय तथा कलेजहरूले जारी मधेस आन्दोलनमा बन्द रहेको अवधिमध्ये एक महिनाको मात्र मासिक शुल्क मिनहा गरी बाँकी अवधिको शुल्क लिने निर्णयको भेलाका सहभागी वक्ताहरूले विरोध गरे ।
आयोजित भेलाले बन्द अवधिको मासिक शुल्कलगायत कुनै पनि शुल्क नदिने निर्णय गरेको छ। सङ्घका अध्यक्ष द्विजेन्द्रकुमार तिवारीले भेलापछि विज्ञप्ति जारी गरी शुल्क नतिर्ने निर्णय भएको जानकारी गराए। निर्णय कार्यान्वयनका लागि १७ सदस्यीय अप्रेसन टिम गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
भेलामा शैक्षिक क्षेत्रका विभिन्न गतिविधि तथा सुधारका पक्षहरूको बारेमा पनि छलफल भएको थियो। विद्यालय, कलेज सञ्चालनमा आए पनि बन्द अवधिको शुल्क नलिनका लागि पहिले आन्दोलनरत पक्षले आग्रह गरेको थियो। विद्यालयले शुल्क माग्न थालेपछि आन्दोलनरत दलमध्ये सङ्घीय समावेशी मधेसी गठबन्धन पर्साबाहेक अन्यले कुनै प्रतिक्रिया नदिएको भन्दै अभिभावकहरूले आक्रोश पोखे।
कार्यक्रमका वक्ताहरूले बन्द अवधिको कुनै पनि शुल्क नतिर्न अभिभावकहरूलाई आग्रह गरे। यता आन्दोलनरत मोर्चामध्ये संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने विज्ञप्तिमार्फत् शुल्कको विरोध गरे पनि उसकै विद्यार्थी सङगठनका प्रतिनिधिको रोहबरमा निजी विद्यालयहरूको सङगठन प्याब्सन र एनप्याब्सनले संयुक्त बैठक र पत्रकार सम्मेलनमा एक महिनाको शुल्क मिनहा गरी तीन महिनाको शुल्क लिने घोषणा गरिसकेको छ।
विद्यालय शुल्क सम्बन्धमा अन्योल नै रहेपछि विद्यालय सञ्चालनको एक महिना बितिसक्दा पनि वीरगंजका विद्यालयहरूले मासिक शुल्क उठाउन सकेका छैनन्। अभिभावकहरूले साउनदेखि मङ्सिरसम्मको शुल्क त दिएनन्, साउनअघिको शुल्कसमेत नदिएको विद्यालय सञ्चालकहरूको गुनासो छ।
शुल्क सम्बन्धमा विद्यालयहरूको समस्या र विद्यालय खुलेपछि बालबालिकाको निम्ति गरिरहेको प्रयासलाई समेत बेवास्ता गर्दै विभिन्न पक्षबाट फरकफरक किसिमका अभिव्यक्ति आउने गरेकाले अभिभावकहरू अन्योलमा परेका र शुल्क दिन तयार अभिभावकहरूसमेत पछाडि हटेको विद्यालय सञ्चालकहरूको भनाइ छ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस