सीके राउतका कार्यकर्तामाथि हातहतियार मुद्दा
परवानीपुर, ११ मङ्सिर – स्वतन्त्र मधेस महागठबन्धनमा आबद्ध चारजनामाथि प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ ।बाराको बरियापुरबाट मङ्सिर ८ गते पक्राउ परेका चारजना कार्यकर्ताहरूमाथि प्रहरीले बिहीवार हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ ।
मुद्दा दर्ता गरिएकाहरूमा महागढीमाई नपा–१ बस्ने राजाबाबू साह, वडा नं. ५ का विनोद साह, टेढाकट्टी बस्ने बृजेश सिंह र नरही गाविस–७ निवासी सद्दाम हुसैन रहेका छन् । उनीहरूलाई बरियापुरस्थित गढीमाई धर्मशालामा गोप्य बैठक गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले झूटो मुद्दामा फसाउन खोजेको उनीहरूका परिवारजनले आरोप लगाएका छन् ।
बृजेश सिंहका भाइ दिपेश सिंहका अनुसार पक्राउ गर्ने बेलामा प्रहरीले कुनै किसिमका हातहतियार फेला पारेको थिएन ।
यस विषयमा बाराका प्रहरी उपरीक्षक लोकेन्द्र मल्लसँग बुझ्दा उनले हातहतियारसहित गोप्य बैठक गरिरहेको अवस्थामा सूचनाको आधारमा प्रहरीले उनीहरूलाई हतियारसहित पक्राउ गरेको बताए । उनले बैठक स्थलबाट प्रहरीले केही स्थानीय नलकटुवा बन्दुकहरू फेला पारेको दाबी गरे ।
यसैबीच इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा बिहीवार पक्राउ परेका महागठबन्धनका ९ जना कार्यकर्तालाई प्रहरीले सोही साँझ मुक्त गरिदिएको छ ।
पक्राउ गरेर रिहा गरिएकाहरूमा जयप्रकाश यादव, जुनैद आलम, सन्तोष कुशवाहा, रामवचन यादव, पुरुषोत्तम कुशवाहा, कमलेश्वर कुशवाहा, जरविन कुशवाहा, सन्तोष कुशवाहा र धीरज कुशवाहा रहेका छन् ।
उनीहरूलाई पक्राउ गर्ने बित्तिकै हजारौंको सङ्ख्यामा पुगेका स्थानीय बासिन्दाले अविलम्ब रिहा गर्न दबाब दिएका थिए । यसैगरी वीरगंजको माईस्थानबाट बिहीवार पक्राउ गरेको स्वतन्त्र मधेस महागठबन्धनका बारा इन्चार्ज राजेश यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साले रिहा गरेको छ । यादवलाई शुक्रवार रिहा गरिएको हो।
उनीहरूलाई प्रथमपटक सामान्य चेतावनी दिई अब आइन्दा त्यस्ता कार्यक्रममा सहभागी नहुन चेतावनी दिंदै भद्रभलाद्मीको जिम्मामा रिहा गरेको प्रहरीले जनाएको छ ।
सिकेन्द्र पासवान, कलैया/
पक्राउ परेका सीके राउतका कार्यकर्तामाथि प्रहरीले हातहतियार मुद्दा चलाएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाराद्वारा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
मोर्चामा सहभागी बाराका राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रहरी प्रशासनले जथाभावी सर्वसाधारण व्यक्तिहरूलाई पक्राउ गरी झूटो मुद्दा चलाइ फसाउने गरेको भन्दै विरोध जनाएको छ ।
शान्तिपूर्वक सभा, सम्मेलन गर्न पाउने नागरिकको व्यक्तिगत स्वतन्त्रतालाई हनन गर्न नहुने भन्दै विज्ञप्तिमा नागरिकको स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ । जिल्लाको बरियारपुरमा शान्तिपूर्णरूपमा भेला गरिरहेका कार्यकर्ताहरूलाई पक्राउ गरी उनीहरूमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउनु गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका सबैको बिनासर्त रिहाइको माग गरिएको छ ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस