Bara News

विवेकशील नेपालीले मुसहर बस्तीमा न्यानो बाँड्यो

पथलैया, ४ पुस – मनहर्वा–९ स्थित मुसहर बस्तीमा विवेकशील नेपाली बाराले शनिवार न्यानो कपडा वितरण गरेको छ। मनहर्वाको कुसमाडीस्थित मुसहर बस्तीका ५७ घरपरिवारलाई विवेकशील नेपालीका युवाहरूले जाडोमा लगाउने कपडा र ओढ्ने ब्लान्केट वितरण गरेको हो। बस्तीमा पुगेका युवाहरूले २५० जनालाई लुगा र प्रत्येक घरलाई एउटा ब्लान्केट वितरणको गरेको हो।चिसो मौसममा अति नै प्रभावित हुने विपन्न वर्गका समुदायलाई लक्षित गर्दै विवेकशील नेपालीले यसअघि पाँच दिनसम्म सिमरामा नयाँ तथा पुराना लुगा सङकलन अभियान सञ्चालन गरेको थियो। सिमरा चोकमा सञ्चालित अभियानमा करिब एक हजार दुई नयाँ तथा पुराना लत्ताकपडा र नयाँ ८० थान ब्लान्केट सङकलन भएको विवेकशील नेपाली बाराका अध्यक्ष अर्पणराज घिमिरेले जानकारी दिए।

सङकलित लुगामध्येबाट मुसहर बस्तीमा रहेको परिवारको विवरण सङकलन गरेर न्यानो कपडा वितरण गरिएको अध्यक्ष घिमिरेले बताए। विवेकशील युवाको टोली बस्ती पुग्दा मुसहर समुदायका स्थानीय निकै खुशी देखिन्थे। परालमाथि बोरा ओछ्याएर र सुकुल ओढेर सुत्न परिरहेका बेला न्यानो कपडा पाउँदा निकै खुशी लागेको मुसहर बस्तीका कपिलदेव माझीले बताए । उनले भने,“चिसो शुरू हुन थाले लगत्तै हामीले न्यानो कपडा पाएका छौं, केही हदसम्म हामीलाई यो कपडाले राहत मिल्नेछ।”

न्यानो कपडा लिन कार्यक्रममा आएकी झौरी माझीले अघिल्लो वर्षको जाडोमा निकै कष्ट बेहोर्नुपरेको व्यथा सुनाइन्। आर्थिक अवस्था कमजोर भएको कारण न्यानो लुगा किन्न नसक्ने भन्दै उनले यस्ता सहयोगले धेरै राहत मिल्ने बताइन् ।

मुसहर बस्तीका अधिकांश परालमाथि बोरा ओछ्याएर सुकुल ओढेर सुत्ने गर्छन्। चिसो बढ्न थालेपछि उनीहरू घरभित्रै घुर बाल्ने गर्दछन्। जाडोमा साना बच्चा र वृद्धवृद्धालाई भने निकै कष्ट हुने गरेको समफुल माझीले बताए । खोलामा गिट्टी कुटेर दैनिक दुई सयदेखि तीन सयसम्मको कमाइले बिहान–बेलुकाको छार्क टार्न पनि धौधौ पर्ने समफुलको भनाइ थियो। परिवारका सबै सदस्यका लागि न्यानो लुगा पाएकोले आफूहरू निकै खुशी भएको उनले बताए ।

विवेकशील नेपालीका राजदास श्रेष्ठले मुसहर बस्तीबाट शुरू भएको न्यानो लुगा वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे। अति प्रभावित र विपन्न बस्तीको छनोट गरी त्यस्ता बस्तीहरूमा लुगा वितरण गरिने श्रेष्ठले बताए।
-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button