लोकतान्त्रिक मोर्चाको ‘चाय पर चर्चा’, जारी संविधान अन्तरिमभन्दा अपुग छ –सोनल
परवानीपुर, १७ पुस – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बारा, पर्सामा चलाएको संविधान विशेष कार्यक्रम ‘चाय पर चर्चा’ शुक्रवार पर्साको परवानीपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव जीतेन्द्र सोनलले बिहानको चिया गफसँगै जारी नेपालको संविधान २०७२ को कमीकमजोरीबारे प्रकाश पारेका थिए । नेता सोनलले अन्तरिम संविधान २०६३ भन्दा २०७२ मा जारी संविधानमा धेरै कुरा अपुग रहेको बताए ।
जारी संविधानमा समावेश नगरिएका अधिकारहरू सुनिश्चित गर्नको लागि आगामी दिनमा आन्दोलन अझ निर्णायक र सशक्त बनाउनुपर्ने समयको माग रहेको बताउँदै उनले आन्दोलनमा तन र मनले सहयोग गर्न जनसमुदायलाई आग्रह गरे ।
लामो आन्दोलन गरे तापनि सरकारको आन्दोलनप्रति नकारात्मक सोचका कारण निकास पाउन नसकेको जिकिर गर्दै नेता सोनलले मधेसी जनतालाई विभेद, उपेक्षा र अधिकारबाट वञ्चित गराउन अझै पनि षड्यन्त्र भइरहेको उनले बताए ।
लिपनीबिर्ता, लिपनीमाल र सो आसपास क्षेत्रका बासिन्दाहरूको सहभागिता रहेको ‘चाय पर चर्चा’ कार्यक्रममा अन्तरिम संविधान २०६३ र जारी संविधान २०७२ को बारेमा सहभागीहरूले प्रश्न गरेका थिए ।
गाउँका अगुवा महन्थ महतो कोइरीको सभापतित्व तथा सुबोध श्रीवास्तवको सहजीकरणमा सम्पन्न कार्यक्रममा तमलोपाका केन्द्रीय सदस्य रामचन्द्र सिंह, जीतेन्द्र शर्मा, रामक्षत्री कुशवाहा, हरिहर साह, सन्त यादव, उमेश साह, सन्तोष यादवलगायतले चर्चामा भाग लिएका तमलोपा, बाराका प्रवक्ता रमेश सर्राफले जानकारी गराएका छन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस