मुलुकको प्रमुख समस्या नै एमाले –महन्थ ठाकुर
शिवशङ्कर मिश्र, कलैया, २३ पुस/
तराई–मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले देशको मुख्य समस्याको जड नेकपा एमाले रहेको बताएका छन् । बाराको कलैयामा आयोजित दलित सम्मेलन तथा सामूहिक भोज कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
दलित उत्थान मञ्च बाराद्वारा कलैयाको शहीद चोकमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सर्वोच्च अदालतको निर्णयले संविधान संशोधनको बाटो खुलाएको तर एउटा दलले संविधान संशोधनको विरोध गरी आन्दोलन चर्काएर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए ।
संविधानमा मधेसी, दलित, जनजाति, सीमान्तकृत वर्गको हकअधिकार सुनिश्चित हुन रोक लगाउने खेलमा एमाले लागेकोले सम्पूर्ण मधेसी जनता सर्तक हुन उनले आग्रह गरे ।
एमालेसहितका राजनीतिक दलहरूले संशोधन प्रस्तावको विरुद्धमा संसद् अवरुद्ध गर्नु निन्दनीय भएको भन्दै उनले एमालेले मधेससँग राजनीतिक बेइमानी गरिरहेको तथा संशोधन प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीले पहिला नै सहमति जनाइसके पनि अब विरोध गर्नु उनको नियत नै गलत रहेको उनले आरोप लगाए ।
मधेसलाई एमालेले भोट बैंकको रूपमा प्रयोग गर्दै आएको र दलितको हकअधिकारलाई सदैव दबाएर राख्दै आएको उनले औंल्याए ।
कार्यक्रममा उनले नेपालमा बसोबास गर्ने सबै समुदाय एक समान रहेकाले मधेसलाई छुवाछूतरहित बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पार्टीका महामन्त्री जीतेन्द्र सोनलले तराईका सबै दलितले अधिकारको सवालमा एकीकृत भएर लाग्नुपर्ने अवस्था आएकोले सजग हुन आग्रह गरे । मधेसमा ६५ वटा जातजाति मधेसीमा सूचीकृत भएकाले सम्पूर्ण मधेसीको हकअधिकारको लागि एकजुट भएर संविधान संशोधनको पक्षमा उत्रिनुपर्ने बताए । संशोधनबिना निर्वाचनको कुरा गरिए देश फेरि द्वन्द्वमा जाने र संविधान कार्यान्वयन पनि ओझेलमा पर्ने उनले ठोकुवा गरे ।
कार्यक्रममा तराई–मधेस दलित उत्थान मञ्चका अध्यक्ष नन्दु राम, सामाजिक विश्लेषक जय निशान्त, जिल्ला अध्यक्ष नवलकिशोर सिंह, राजनीतिक विश्लेषक तुलानारायण साह, महिला नेत्री पिङ्की यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
-Prateek daily-
प्रतिक्रिया लेख्नुहोस