Bara News

भारतीय पक्षले गण्डक नहरमा पानी रोकेपछि नेपालका कृषकहरूको खेती प्रभावित

परवानीपुर, १७ साउन – गण्डक नहरमा दैनिक छोडिने पानीको मात्रामा भारतीय पक्षका कर्मचारीहरूले हस्तक्षेप गर्ने गरेको नारायणी सिंचाइ डिभिजन नं. ५ का इन्जिनियरहरूले गुनासो गरेका छन् ।

सन् १९७२ मा गण्डक नहरसम्बन्धी सम्झौतामा प्रत्येक सिजनमा भारतीय पक्षले नेपालको लागि प्रतिदिन ८५७ क्युसेक पानी छोड्नुपर्ने सम्झौता भए तापनि हाल गण्डक नहरमा इनरुवा बजारको बाँधबाट ६ सय क्यूसेक पानी मात्रै गण्डक नहरमा छोडिने गरेको इन्जिनियर सुरेश साहले बताए ।

रातिको समयमा बाँधको चारवटा गेट खोल्नुपर्नेमा दुईवटा गेट बन्द गरी भारतीय कर्मचारीहरूले पानी पठाउने गरेका छन् । दोन नहर शाखाका मुख्य अभियन्ता सुरेश रामको निर्देशन एवं इनरुवा बजारस्थित गण्डक नहरका भारतीय कर्मचारी रामछबिला महतोको मिलेमतोमा पानी रोकिएको बुझिएको छ ।

मुख्य अभियन्ता रामसँग बुझ्दा पछिल्लो दिनमा के भयो आफूलाई थाहा नभएको तर आजबाट ८५७ क्युसेक पानी नै नेपालको गण्डक नहरमा पर्सा, बारा, रौतहटको लागि छोडिएको प्रतिक्रिया दिए । भारतको भैंसालोटनबाट नारायणी नदीको १५ हजार क्युसेक पानी तिरहुत नहरमा आउने गरेको र उक्त नहरबाट दोन शाखा हुँदै घोडासहन नहरमा १५ सय क्युसेक र गण्डक नहरमा ८५७ क्युसेक पानी छोडिने सम्झौतामा उल्लेख छ ।

भारतीय पक्षले रातिको समयमा पानी बहावमा हस्तक्षेप गरेको कारण पर्सा, बारा र रौतहटका किसानहरू प्रत्यक्षरूपमा मारमा परेका छन् । गण्डक नहरमा पूरै पानी आए शाखा नहरहरूबाट सिंचाइ गर्न सजिलो हुने किसानहरूले बताए । आजभोलि पानीको सतह घट्दै गएकाले सिंचाइ गर्न समस्या भइरहेको किसानहरूले गुनासो पोखे ।
गण्डक नहरमा पानी कम आउँदा खडेरी परेको समयमा पर्याप्त रोपाइँ नहुँदा आफूहरूको रोजीरोटीसँग भारतीय पक्षले खेलवाड गरिरहेको नेपाली किसानहरूको आरोप छ ।

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button