Bara News

निजगढ नगरपालिकाको बन्दै गरेको भवनमा ठेकेदारको लापरवाही

प्रस, निजगढ, बारा/
निजगढ नगरपालिकाको निर्माणाधीन पक्की भवनमा ठेकेदारको लापरवाही भेटिएको छ ।
स्थानीयले निर्माणाधीन भवन हेर्ने क्रममा तोकिएको मापदण्डविपरीत गिट्टी, बालुवाबाट भवनको मुख्य पिलर र जगको ढलान गरिरहेको बेला ढलान फुटाउँदा जथाभावी सामग्री प्रयोग भएको प्रमाण फेला परेको हो । राम्रै बनिरहेको होला नगरपालिकाको भवन भनेर उत्साही भएर हेर्न जाँदा जथाभावी निर्माण सामाग्री राखी पिलरको जग ढलान भइरहेको पाउँदाँ निकै दुःख लागेको स्थानीय युवा रोशनकुमार उप्रेतीले बताए ।
खोलाबगरबाट ल्याएको बालुवामा रहेको ठूलो ढुङ्गा मिसाई ढलानको मसाला बनाएको, मसिनोभन्दा मसिनो बालुवा राखी, बालुवाको मात्रा बढी भएको गिट्टी प्रयोग गरिएको, कमसल अर्थात् २ नम्बर इँटा प्रयोग भएको भेटिएपछि सचेत स्थानीय युवाले चेतावनी दिंदै पारदर्शी ढङ्गबाट बलियो काम गर्न माग राखेका छन् ।
नगरपालिकाको भवन निर्माणमा जथाभावी भइरहे पनि निजगढ नगरपालिकाले ध्यान नदिंदा कामको गुणस्तरप्रति अधिकांश सचेत स्थानीयले शङ्का गरेका छन् ।
गुणस्तरहीन काम भएको जानकारी पाउना साथ निजगढ नगर विकास समितिका अध्यक्ष सुरेशकुमार खनाल सहित स्थानीयले स्थलगत अनुगमन गरेका छन् । अनुगमनको क्रममा ठेकेदार र नगरपालिकाले नगरवासीको भावना र विश्वासमाथि गम्भीर चोट पु¥याएको बताउँदै जथाभावी काम गर्ने र गराउनेलाई कारबाई गर्ने अध्यक्ष खनालले बताए ।
काममा लापरवाही नगर्न पटकपटक आग्रह गरे पनि ठेकेदारले बेवास्ता गर्ने गरेको स्थानीय समाजसेवी पद्मबहादुर भण्डारी बताउँछन् । नगरपालिका भवन निर्माणमा लापरवाही भएको जानकारी पाउना साथ युथ अफ निजगढका अध्यक्ष राजन श्रेष्ठसहितको टोलीले पनि स्थलगत अनुगमन गर्दै गुणस्तरहीन कामको छानबिन र काममा जथाभावी नगर्न सचेत गराउदै विश्वासिलो अनुगमन संयन्त्र गठन गर्नुपर्ने बताए ।
गुणस्तरहीन काम नगर्न ठेकेदार पक्षलाई बारम्बार सचेत गराइरहे पनि नगरपालिकाको प्राविधिक, प्रतिनिधि नभएका बेला ठेकेदारले मनोमानी काम गरेको भन्दै निजगढ नगरपालिकाका सब इन्जिनियर एवं सूचना अधिकारी नवीन खनालले दुईवटा पिलरको जगको ढलान हटाउन लगाए ।
११ कठ्ठा जग्गामा साढे तीन तलाको ३८ कोठे भवन रहने र पहिलो चरणमा भुइँ तल्ला ९ कोठा, पहिलो तल्ला १६ कोठा गरी २५ कोठे पक्की भवन निर्माण हुने जनाइएको छ । भवन निर्माणमा रु ९ करोड लाग्ने अनुमान छ । भुइँ तल्ला र पहिलो तल्ला गरी १६ कोठे पक्की भवन निर्माण सम्पन्न गर्न प्रतिष्ठा कन्ट्रक्सन प्रालि विशालनगर काठमाडौंले रु ३ करोड ८१ लाखमा ठेक्का सकार गरेको हो । सो निर्माण कम्पनीले कार्य क्षेत्रमा अनिवार्य प्राविधिक राख्नुपर्ने भए पनि केही समय यतादेखि प्राविधिक राखेको छैन ।
जथाभावी काम गर्ने ठेकेदार कम्पनी र नगरपालिकालाई छानबिनको दायरामा नल्याएसम्म काम अघि बढाउन नदिने एकथरी सचेत स्थानीयको भनाइ छ । निजगढ नगरपालिकाको भवन निर्माणका लागि स्थानीयले जग्गा निश्शुल्क उपलब्ध गराए पनि जथाभावी निर्माण सामग्री प्रयोग गरेर, गर्न दिएर भवन निर्माण कम्पनी र निजगढ नगरपालिकाले नगरवासीको भावना, विश्वासमा चोट पु¥याएको देखिन्छ ।

 

-PrateekDaily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button