निजगढमा सरसफाइ गर्दै हास्य कलाकार धुर्मुस र सुन्तली
निजगढ, ११ पुस – चर्चित हास्य कलाकारद्वय धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)को जोडीले शनिवार निजगढमा सरसफाइ गरेको छ ।नेपाल सरकारले चलाएको साताव्यापी पूर्व—पश्चिम राजमार्ग सरसफाइ अभियानलाई साथ दिन उनीहरूको जोडीले शनिवार निजगढ क्षेत्रको राजमार्ग र राजमार्ग आसपासका क्षेत्रमा सरसफाइ गरेको हो । हास्य जोडीको अगुवाइमा भएको कार्यक्रम निकै रोचक र उत्साहपूर्ण थियो ।
“जसरी मानिसको शरीरलाई सधैं सफासुग्घर राख्नुपर्छ । त्यति नै घर, टोल, गाउँ, शहर, बस्ती, गल्ली, सडक पनि सफासुग्घर राख्न सके मात्र वातावरण स्वच्छ हुन्छ, वातावरण स्वच्छ भए मात्र हामी निरोगी हुन्छौं,” कलाकार धुर्मुसले बताए ।
सो अवसरमा सुन्तलीले सरसफाइ मानवको स्वास्थ्य र इज्जत प्रतिष्ठा भएकोले हरेक व्यक्ति मनैदेखि सफा रहनुपर्ने बताइन् ।
आफूहरूले ‘धुर्मुस–सुन्तली राष्ट्रिय सरसफाइ अभियान’ रामेछापबाट यसअघि नै शुरू गरी मुलुकका विभिन्न स्थानहरूमा सरसफाइ अभियान लिएर पुगिसकेको चर्चा गर्दै कलाकार जोडीले सरकारले पनि सरसफाइ कार्यक्रम शुरू गरेको हुँदा स्व:स्फूर्तरूपमा आफ्नो जोडी सहभागी भएको बताए ।
अभियानको लागि कुनै एनजीओ, आईएनजीओको सहयोग नलिएको प्रस्ट्याउँदै उनीहरूले अभियानलाई मुलुकवासीले हार्दिकताका साथ स्वागत गर्दै सक्रियता देखाएको बताए ।
“थालनी गरेको अभियानलाई निरन्तरता दिने भनेको तपाईंहरूले नै हो । अरूको मुख ताक्नु र भर पर्नुभन्दा आपैंmबाट थालनी गर्नु बेस । सकारात्मक कामको सुरुआत गर्न विलम्ब नगरौं,” कार्यक्रममा सुन्तलीले जोड दिइन् ।
कार्यक्रमा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल, वातावरण शाखा प्रमुख चक्रपाणि शर्मालगायत प्राविधिक टोलीका सदस्यहरूको सहभागिता थियो ।
अभियानलाई लायन्स क्लब निजगढ, लायन्स क्लब निजगढ पिसलगायत स्थानीय समाजसेवी, बुद्धिजीवीहरूले सघाएका थिए । धुर्मुस र सुन्तली आएको खबरले निजगढ र सो आसपासका क्षेत्रका बासिन्दाहरू उल्लेखनीयरूपमा कार्यक्रमस्थलमा आएका थिए ।
सो अवसरमा निजगढ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विमलकुमार पोखरेललाई सरसफाइ अभियानलाई निरन्तरता दिन नगरपालिकाको तर्फबाट भूमिका निर्वाह गर्न कलाकारद्वयले आग्रह गरेका थिए ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस