Bara News

जितपुर सिमरा उपमहानगरमा भोजपुरी भाषालाई कामकाजमा दोश्रो प्राथमिकता

१० असोज, सिमरा । जितपुर सिमरा उपमहानगरपालिकाका पहिलो मेयर डा. कृष्ण पौडेल र उपमेयर सरस्वती चौधरीले मंगलबार सपथ लिएका छन् ।

सपथपछि पदभार ग्रहण गर्दै मेयर पौडेलले मिश्रित बसोबास रहेको जितपुर सिमरामा नेपाली भाषापछि दोश्रो कामकाजीको भाषामा भोजपुरी भाषालाई प्रयोगमा ल्याउन आफू प्रतिवद्ध रहेको बताए ।

जनसंख्याका आधारले मात्र उपमहानगर बनेको बाराको जितपुर सिमरा उपमहानगरमा विकास र पर्यटनका सम्भावना धेरै हुँदाहुँदै पनि सोचेजस्तो बिकासको अनुभव स्थानीयबासीले गर्न नसकिरहेका बेला डा. पौडेलले समृद्ध उपमहानगरको खाका तयार पारी कार्यान्वयनमा आगाडि बढ्ने बताए । एक बिज्ञसहितको कार्यदल निर्माण गरी ६ महिनाभित्र एक समृद्ध महानगरको खाका तयार पार्ने र सोही नक्सांकनका आधारमा अगाडि बढ्ने उनले घोषणा समेत गरेका छन् ।

भौतिक पूर्वाधारतर्फ उनले व्यवस्थित चक्रपथ, प्रत्येक वडाका बाटोहरु कालोपत्रे र बाटो स्ल्याव, पक्की पुलपुलेसा निर्माणमा गति दिने बताउँदै उपमहानगरको अत्याधुनिक भवन र प्रत्येक वडा कार्यालयको आफ्नै भवन बनाएर जनतालाई सेवा प्रवाहमा सहज बनाउने उनले बताए । प्रत्येक गाउँमा सामुदायिक भवनहरु, क्लब, खेल मैदान, बाचनालय र ब्यायाम घर बनाउने प्रक्रिया समेत अघि बढाउने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

यस्तै सपथपछि पदभार ग्रहण गर्दै उपमेयर सरस्वती चौधरीले मधेसमा महिलाहरुलाई शिक्षाको पहुँचमा ल्याउने र घुम्टोभित्रका महिलालाई मूलबाटोमा ल्याउने उद्देश्य राखेको बताइन् ।

नगरपालिकाको नवनिर्मित भवन परिसरमा आयोजित सपथ ग्रहण तथा स्वागत कार्यक्रममा मेयर/उपमेयर र २४ वडाका वडाध्यक्षलाई निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेलले सपथ ग्रहण गराए भने निर्वाचित वडा सदस्यहरुलाई मेयर डा. पौडेलले सपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Related Articles

Back to top button