चुरे संरक्षणको नाममा खनिएका खाडल जस्ताको त्यस्तै, आलटाल गर्दै जल उत्पन्न प्रकोप र ठेकेदार
निजगढ, १२ चैत – राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत बनाइएका निजगढस्थित बकैया खोला, वन क्षेत्र र लालखोला आसपासका खाडलहरू अझै पनि पुरिएका छैनन् । सो पुर्ने जिम्मेवार निकाय जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुर बारा र संरक्षण कार्यक्रमका ठेकेदारले अटेर गर्दै आइरहेका छन् ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुरले गत फागुन तेस्रो सातासम्ममा खाडल पुरिसक्ने जानकारी गराएको थियो । तर चैतको आधाआधी बित्न लाग्दा पनि खाडल पुर्ने सुरसार गरेको छैन । संरक्षणको नाममा ज·लभित्र भूक्षय निम्तिने गरी ठूल्ठूला खाडल खन्नु गलत भएको ठहर गर्दै केन्द्रीय अनुगमन टोलीले खाडल पुर्न निर्देशन दिएको थियो ।
चुरे संरक्षण योजना निर्माणको बेला जउप्रनि कार्यालय बाराका तत्कालीन प्रमुख अजयकुमार जयसवाल र प्राविधिकहरूले ठेकेदारसँग मिलेमतो गरी स्काभेटर प्रयोग गरी जथाभावी गहिरा खाडल खन्दै ड्याम ठड्याएका थिए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत बाराको निजगढ र रतनपुरी लालमा बनाइएका तटबन्ध र ड्याम नै प्रभावित हुने गरी जताततै खाल्डाहरू खनिएका थिए ।
उक्त खाडलका कारण निर्माण गरिएका संरचना सड्ढटमा परेको छ । कतिपय स्थानमा माटो भस्किएर ड्याम बिग्रिएको छ भने ड्यामनजिकैका गहिरा खाडलमा ड्यामको माटो झर्ने क्रम जारी छ । यस सम्बन्धमा स्थानीयस्तरमा गठित उपभोक्ता समिति मौन बस्नुले ठेकेदारसँगको मिलेमतो प्रस्टिएको छ ।
बकैया खोलाको पश्चिमी किनारतर्फको राष्ट्रिय वन क्षेत्रमा दर्जनौं गहिरा खाडल खन्दा थुप्रै हरिया रूख सुक्ने अवस्थामा छन् । रूखका जरासमेत देखिने गरी खनिएका खाडलमा पानी जम्नाले रूख ढल्ने र ड्याम भस्किने क्रम जारी छ ।
ड्याम निर्माणका क्रममा गरिएका त्रुटि र वास्तविकता सञ्चार माध्यममा उजागर भएपछि ठेकेदारले पाउनुपर्ने अन्तिम किस्ताबापतको करिब २० लाख रुपैयाँ रोकिएको छ ।
खाडल नपुरेकाले रोकिएको उक्त रकम भुक्तानी गराउनेतर्फ मौकाको खोजीमा ठेकेदार र जल उत्पन्न प्रकोपका कर्मचारीहरू लागिपरेका समाचार स्रोतको दाबी छ ।
जथाभावी खनिएका खाडल पुर्न कडा निर्देशन दिइसकेको राष्ट्रपति चुरे (तराई–मधेस) संरक्षण विकास समिति अनुसन्धान तथा कार्यक्रम सहयोग एकाइ हेटौंडाका प्रमुख बसन्त गौतमले बताए । तोकिएको अवधि गुज्रिसक्दा पनि उक्त खाडलहरू नपुर्नाले जल उत्पन्न प्रकोप र ठेकेदारको लापर्बाही एवं अटेरीपन दोषी रहेको प्रमुख गौतमले बताए । उनले पुन: निर्देशन दिने र नमाने ठोस कारबाई अगाडि बढाउने चेतावनी दिए ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस