केन्द्रीय स्टोरमा अति आवश्यक औषधि सकिंदै
६ वैशाख/निजगढ – स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाको केन्द्रीय मेडिकल स्टोर पथलैयामा अति आवश्यक औषधिहरू रित्तिदै गएका छन् ।
जारी मधेस आन्दोलन तथा नाकाबन्दीको कारण बाहिरबाट औषधि आउन नसकेकोले केन्द्रीय स्टोरमा स्टक रहेका औषधिहरू रित्तिदै गएका स्टोर पथलैयाका प्रमुख अरुणकुमार झाले प्रतीकलाई बताए । मुलुकको सबै क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल र जिल्ला अस्पतालहरूलाई केन्द्रीय स्टोर पथलैयाबाट नै औषधि वितरण गरिन्छ ।
तेस्रो मुलुकहरूबाट आयात गरिने औषधिहरू पानीजहाजमार्फत् कोलकाता बन्दरगाह हुँदै वीरगंजस्थित सुक्खा बन्दरगाह भएर भित्रिने हो । बन्दले गर्दा ढुवानीको साधन चल्न नसक्दा बन्दरगाहबाट औषधि स्टोरमा आउन पाएको छैन ।
भारत र अन्य मुलुकहरूबाट आयात गरिने कैयन औषधिहरू रक्सौल–वीरगंज नाका भई नेपाल भित्रिने गर्छन् । रक्सौल –वीरगंज नाका भएर भित्रनुपर्ने औषधिहरू पनि नाकाबन्दीको कारण बाटोमा अलपत्र परेको स्टोर प्रमुख झाले बताए ।
कतिपय औषधि लामो समयसम्म घाम, पानी तथा ओसमा रहँदा बिग्रने अवस्थामा छन् । निश्चित अवधिमा ढुवानी गरी फ्रिजमा राख्नुपर्ने तथा वातानुकूलित स्थानमा राख्नुपर्ने औषधिहरू बिग्रिएर प्रयोगमा ल्याउन नसकिने भएपछि करोडौं मूल्यको औषधि खेर गएको प्रमुख झाले बताए ।
मानवको स्वास्थ्य उपचारका लागि अति आवश्यक औषधिहरू डिआरएस अर्थात् पुनजर्लीय झोल, आयरन चक्कीलगायतका औषधिहरू मङ्सिर ४ गतेसम्ममा केन्द्रीय स्टोरमा झन्डै रित्तिसकेको अवस्था छ ।
शिशु, बालबालिका, सुत्केरी लगायतलाई प्रयोग गरिने औषधिहरू रिङ्गल ट्याबलेट, एन्टासिड ट्याबलेट, सिप्रोफ्लाक्सासिन एन्टिबायोटिक, हाइब्रे, मेट्रोनिडाजोल, प्रोविडिन, आयोडिन जस्ता औषधिहरू केन्द्रीय स्टोरमा सकिसकेको स्टोर प्रमुख झाले जानकारी गराए ।
स्टोरमा रहेका औषधिहरूसमेत सवारी तथा इन्धन अभावको कारण माग भइआएको जिल्लामा पठाउन सकिएको छैन ।
बन्दकर्ताहरूले औषधि बोकेका सवारीमा समेत पेट्रोल बम प्रहार, आगजनी, तोडफोड गर्ने गरेपछि झन् समस्या आएको प्रमुख झाको भनाइ छ ।
हाल माग भइआएकामध्ये स्टोरले मुस्किलले २०/२२ वटा जिल्लामा औषधि पठाएको प्रमुख झाले बताए ।
४०/४५ वटा जिल्लाबाट माग भइआएका औषधि स्टोरले पठाउन नसकेको प्रमुख झाले बताए । माग भइरहेका कतिपय औषधि स्टोरमा छैनन्, उनले भने ।
तराईकै जिल्लाहरूमा वितरण गर्नुपर्ने झुलसमेत लामो बन्दकै कारण वितरण गर्न नसकिएको झाले बताए।
आन्दोलनरत मधेसी मोर्चाको केन्द्रले औषधि तथा स्वास्थ्यसम्बन्धी सवारीलाई नरोक्ने जनाए पनि स्थानीयस्तरमा बन्दकर्ताहरूले औषधि बोकेकै गाडी र एम्बुलेन्समाथि प्रहार गर्न छाडेका छैनन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस