कालोबजारीको कारण उपभोक्ता ठगिदैं
२४ कात्तिक/परवानीपुर – तराइको दोस्रो ठुलो चाड दीपावलीमा वीरगंज बजार दिनभरि खुलिरहेको छ । तर बजारमा चरम कालोबजारी भइरहेको छ । नाकाबन्दी र मधेस आन्दोलनको कारण बजारमा सबै समानको अभाव छ ।
बजारमा सामान अभावको व्यापारीहरू मनग्गे फाइदा उठाउँदै चरम कालोबजारी गरिरहेका छन् । सुनदेखि नुनसम्मको सामग्रीको दाम अहिले वीरगंज आसपासको बजारमा अकाशिएको छ । लामो बन्दको कारण पहिलै नै सर्वसधारण उपभोक्ताको ढाड सेकिएको छ । अझ यो चाडको बेला व्यापारीको मनपरीले उपभोक्ताहरू एकदम निसासिएको उपभोक्ता मञ्च पर्साका अध्यक्ष दीना गुप्ताले बताएका छन् । तेल, दाललगायत सामग्रीको दाम दोब्बर पारिएको छ ।
बजार अनुगमनको लागि स्थानीय प्रशासनसँ पटकपटक भन्दा र सुलभ पसल सञ्चालनको माग राख्दा पनि खासै चासो नदेखाइएको उनले गुनासो गरेका छन् । स्थानीय प्रशासनसँग यस विषयमा बुझ्दा अनुगमन टोली खटाइएको दाबी गरिएको छ तर बजारमा कहीं पनि कुनै कर्मचारीले अनुगमन गरिरहेको भेटिएको छैन ।
यस्तो माहौलमा चाडपर्वको किनमेलमा महँगीको सामना गर्नुपर्दा एकदमै गार्हो भएको उपभोक्ताहरू बताउँछन् । सरकारको लाचारीप्रति आम उपभोक्ताहरूले आक्रोश व्यक्त गरेका छन् । चाहे जस्तो परिस्थिति आए पनि राज्यले उपभोक्ताको दुई छाक चल्ने व्यवस्था मिलाउनुपर्छ, अति आश्वयक ग्याँस, इन्धन, खानेकुरालगायत सामग्रीको सहज आपूर्ति हुन सकोस् भन्ने जिम्मेवारी सरकारले लिनुपर्छ भन्दै आम उपभोक्ताहरूले स्थानीय प्रशासनसँग माग गरेका छन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस