काङ्ग्रेसको संशोधन प्रस्ताव मान्दैनौं –महामन्त्री सोनल
परवानीपुर, १८ पुस – बाराको निर्वाचन क्षेत्र नं. ३ स्थित पुरैनिया गाविसको गम्हरियामा शनिवार तराई–मधेस लोकतान्त्रिक पार्टीले जनजागरणसभा गरेको छ ।
स्थानीय जयराम साहको सभापतित्वमा भएको सभामा प्रमुख अतिथि एवं सो पार्टीका महामन्त्री जीतेन्द्र सोनलले नेपाली काङ्ग्रेसले मोर्चाको सहमतिबेगर ल्याएको संशोधन विधेयकलाई आफूहरूले नमान्ने बताए ।
अस्पष्ट र गोलमटोल भाषामा संशोधन प्रस्ताव दर्ता गराइ संशोधन गराउन हतार गरेबाट कुनै षड्यन्त्रको गन्ध आइरहेको नेता सोनलको भनाइ थियो ।
नेकाको संशोधन प्रस्तावले मधेसीको हकअधिकार प्राप्त नहुने भन्दै उनले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अगाडि सारेको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।
अरुणकुमार दुबेले सहजीकरण गरेको कार्यक्रममा तमलोपाका केन्द्रीय सदस्य रामचन्द सिंह, परमहंश केशरी, जिल्ला अध्यक्ष नवलकिशोर सिंह, सन्तोष यादव, पिड्ढी यादवलगायतले मन्तव्य व्यक्त गरेका तमलोपा बाराका प्रवक्ता रमेश सर्राफले जानकारी गराएका छन् ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस