कलैयामा महिला क्रिकेट प्रतियोगिता शुरू, उद्घाटन खेलमा आयोजक कलैया विजयी
प्रस, वीरगंज, ५ माघ/
वीपी स्मृति टी–२० महिला क्रिकेट प्रतियोगिता बुधवारदेखि कलैयामा शुरू भएको छ ।
सिद्धेश्वरस्थित क्रिकेट मैदानमा शुरू भएको प्रतियोगिताको बाराका सांसद लालबाबू सिंह र स्थानीय विकास अधिकारी भरतबहादुर ढुङ्गानाले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।
उद्घाटन समारोह कलैया क्रिकेट क्लबका अध्यक्ष्F उदित गुप्ताको अध्यक्ष्Fतामा भएको थियो भने स्वागत मन्तव्य बारा क्रिकेट सङ्घका अध्यक्ष प्रभात चौरसियाले दिएका थिए ।
कलैया क्रिकेट क्लब र साझेदारी केन्द्र बाराको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक कलैया क्रिकेट क्लबले जितेको छ ।
सर्लाही क्रिकेट क्लबलाई ९ रनअन्तरले पराजित गरेको आयोजक कमिटीका संयोजक सुभाष जयसवालले बताए ।
पहिले ब्याटिङ गरेको कलैया क्रिकेट क्लबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन जोडेको थियो । कलैयाका कृति सेनले १८, प्रभा कुमारीले १४ र मनीषा चौलागाईंले १० रन बनाएका थिए । सर्लाहीका ममता चौधरीले २, सरस्वती चौधरी, अनुराधा चौधरी र सन्तोषी चौधरीले १/१ विकेट लिएका थिए ।
१०२ रनको विजयी लक्ष्य पाएको सर्लाही क्रिकेट क्लब १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाइ ९२ रनमा सीमित रह्यो ।
सर्लाहीका ममता चौधरीले ३०, अनुराधा चौधरीले १४ र सन्तोषी चौधरीले ११ रन जोडेका थिए । बाराका सीता श्रेष्ठले ३, कृति सेनले २, पुष्पा अर्याल र आर्या अर्यालले १/१ विकेट लिएका थिए ।
प्रतियोगितामा सर्लाहीकी ममता चौधरी म्यान अफ द मैच घोषित भइन् । उनलाई सोबिज मिडिया ग्रुपका निर्देशक प्रबल गौतमले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताको दोस्रो दिन भोलि बिहीवार काठमाडौं र सर्लाहीबीच हुनेछ ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस