एम्बुसमा परी एकजनाको मुत्यु, शव भने गायब
२४ कात्तिक/कलैया – किसानले खेतमा थापेको विद्युतीय पासोमा परी बारामा सोमवार बिहान एकजनाको मृत्यु भएको छ । मुत्युसँगै उनको शव गायब गरिएको छ । सोही पासोमा परी एकजना घाइते पनि भएका छन् । तराई–मधेसमा जारी आन्दोलन र बन्दीका कारण करिब २४ घण्टा पछि मात्र घटना बाहिर आएको हो ।
बंजरिया–७ बेलहियाका ४० वर्षीय महमुद अंसारीको मृत्यु भएको छ भने बंजरिया–६ का ४० वर्षीय कामेश्वर गिरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । दाउरा लिन गाउँबाट सँगै ज·ल गएको र फर्कंदा यस्तो घटना भएको घाइते गिरीले बताए ।
हरैया–१ रामनगरको बथानटोलमा स्थानीय बासिन्दाले खेतमा राखेको विद्युतीय पासोमा परी दुवैजनालाई करेन्ट लागेको घाइते गिरीले बताए । करेन्ट लागेपछि दुवैजना लडयौ र केही समय पछि गिरीको होश खुल्दा केही मान्छे आफू नजिक देखिएका उनले बताए ।
“मेरो छेउमैं लडेका अंसारीको मृत्यु भइसकेको थियो”–गिरीले बताए । “त्यहाँ उपस्थित मान्छेले मेरो मोबाइल खोसेर सीम निकाली मलाई आफ्नो नियन्त्रणमा लिए । केही समयपछि उनीहरूको नियन्त्रणबाट भागेर ज्यान जोगाएँ र मनहर्वाका गाउँलेहरूको सहयोगमा कलैया अस्पताल पुगेंं”–गिरीले बताए । मनहर्वाका स्थानीयले एम्बुलेन्स मगाएर कलैया अस्पतालमा पुर्याएपछि उपचार गराई बाँचेको गिरीले बताएका छन् ।
ज·लसँगै टाँसिएको हरैया–१ रामनगरको बथानटोलमा स्थानीयले थापेको विद्युतीय पासो परी यस्तो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिए । ज·ली जनावरले बाली नाली नष्ट गर्नुको साथै मान्छेलाई पनि मार्ने गरेको कारण पासो लगाएको हुन सक्ने प्रहरी चौकी मधुवनका प्रहरी सहायक निरीक्षक रामहरि अधिकारीले बताए ।
मृतक भनिएका अंसारीको शव खोज तलास भइरहेको तथा घटनाबारे पनि छानबिन भइरहेको प्रहरी प्रवक्ता विनोद शर्माले जानकारी दिए । कोल्भी इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक शिवप्रसाद पराजुली, सेक्टर–१ का प्रमुख कपिलदेवप्रसाद पटेल र प्रहरी चौकी मधुवनका प्रहरी सहायक निरीक्षक रामहरि अधिकारीलगायतको संयुक्त गस्ती टोलीले लाश खोजतलास गरिरहेको बारा प्रहरीले जानकारी दिएको छ ।
घटनापछि बथानटोलका पुरुषहरू भागेका छन् भने महिलाहरू मात्र गाउँमा रहेको प्रहरी प्रवक्ता विनोद शर्माले जानकारी दिए ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस