National News

सामाजिक सञ्जालमा असामाजिक हर्कतविरूद्ध प्रहरी अाक्रामक

काठमाडौं– फेसबुक ट्वीटरलगायत सामाजिक सञ्जालका भित्ताहरुमा सामाजिक सद्भाव भड्काएर साम्प्रदायिक द्वन्द्व निम्त्याउने किसिमका स्टाटस र फोटोहरु पोष्ट गर्नेविरुद्ध प्रहरीले कडा कारवाही गर्ने चेतावनी दिएको छ।

पछिल्लो समय संघीय सीमांकनको विषयलाई लिएर कैलालीको टिकापुर, रौतहटको गौरलगायत स्थानमा भड्किएको हिंसालाई सामाजिक सञ्जालमा जथाभावी पोष्ट गरिएपछि प्रहरी यस विषयमा गम्भीर देखिएको हो ।

‘फेसबुक, ट्वीटरलगायत समाजिक सञ्जाललाई असामाजिक र अमर्यादीत बनाउनेहरुको खोजी, अनुसन्धान गरी कारवाही गर्ने विषयमा हामीले आवश्यक तयारी गरिरहेका छौं,’ नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले नागरिकन्युजसँग भने, ‘केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखासँगको समन्वयमा यस विषयमा कारबाही भइरहेको छ।’

fireman

फायरप्रूफ ज्याकेट लगाएर तालिम गर्दै गरेका एक अमेरिकी नागरिककाे याे फाेटाेलार्इ साेमबार टिकापुरमा भएकाे घटनासँग जाेडेर फेसबुकमा दुष्प्रचार गरिएकाे थियाे ।

थरुहट–थारुवान प्रदेशको मागसहित कैलालीमा भएको प्रदर्शनमा दुई वर्षे बालकसहित ७ प्रहरीको हत्या भएपछि देश र विदेशका विभिन्न भागमा बस्ने नेपाली तथा गैरआवासीय नेपालीले सामाजिक सञ्जालमा विभिन्न अभिव्यक्ति दिए।

सामाजिक सञ्जालका केही आक्रोशित प्रयोगकर्ताहरुले आ–आफ्ना रुचि र झुकाव रहेका समुदायको पक्षमा गृहमन्त्री बामदेव गौतमसहित केही राजनीतिक दलका नेता र नेपाल प्रहरीका एसएसपी रमेश खरेलको फोटो राखेर नक्कली अभिव्यक्तिहरु सार्वजनिक गरे। आफ्ना फोटाहरु राखेर खोलिएका नक्कली फेसबुक खाताबाट अमर्यादित अभिव्यक्ति प्रकाशित भएपछि एसएसपी खरेलले मंगलबार नै आफ्नो फेसबुक एकाउन्टबाट खण्डन गरे।

‘मेरो फोटो राखेर मैरै नाममा कतिवटा फेसबुक एकाउन्ट खोलिएको छ ती सबैलाई बन्द गर्न मैले सम्बन्धित निकायसँग समन्वय गरेको छु,’ एसएसपी खरेलले नागरिकन्यूजसँग भने, ‘मेरो फोटासहित आएका विषयहरु निकै आपत्तिजनक छन्, त्यस्तो गर्नेलाई कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको छ।’ सामाजिक सञ्जालमार्फत् हुने असामाजिक हर्कतहरु रोक्न आफूले विज्ञहरुसँग परामर्श गरिरहेको र प्रहरी संगठन पनि त्यो दिशामा रहेको उनले बताए।

सामाजिक सञ्जालमा किन हुन्छन् असामाजिक हर्कत ?

सामाजिक सञ्जालमा दिइने अभिव्यक्ति र गरिने क्रियाकलापमा एक किसिमको निर्भिकता हुने बताउँछन् सोसियल मिडिया एन्ड क्राइसिस म्यानेजमेन्टमा अमेरिकाबाट विद्यावारिधी गरेका एसएसपी राजीव सुब्बा। ‘वास्तविक जीवनमा कसै सामु मुख खोलेर प्रस्तुत गर्न नसकेका कुण्ठाहरु, र कल्पनात्मक कुराहरु कतिपयले सामाजिक सञ्जानमा पोष्ट गर्छन्,’ प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयमा कार्यरत एसएसपी सुब्बा भन्छन्, ‘यसलाई ‘डिसइन्हिबिशन इफेक्ट’ भनिन्छ। समाजमा आफ्नो पहिचान स्थापित गर्ने सुसुप्त चाहनाले पनि यस्ता व्यवहारलाई निर्देशित गर्छ।’

लाज गालले, डरले र असंभव भएर वास्तविक जीवनमा कसैसँग व्यक्त गर्न नसकेको अभिव्यक्ति कतिपयले सामाजिक सञ्जालमा निर्भयका साथ पोष्ट गर्ने प्रवृत्ति देखिने उनले बताए। समाजबाट सिकेका कुरा सामाजिक सञ्जालमा देखिने भएकोले पनि समाजका हरेक व्यक्ति र समुदाय सदाचारतर्फ उन्मुख हुनुपर्ने उनको भनाइ छ।

उनका अनुसार सामाजिक सञ्जालहरुमै बनेका सेलिब्रेटी(फेसबुक सेलिब्रेटी, ट्वीटर सेलिब्रेटी) र मामाजिक जीवनका विभिन्न क्षेत्रका सेलिब्रेटी र आदर्श व्यक्तिहरुले असामाजिक पोष्टहरुका विषयमा खण्डन गरी सही सूचना प्रवाह गर्ने हो भने तथ्यहिन सूचनाहरु सामाजिक सञ्जालबाट हट्दै जाने छ।

‘एसएसपी रमेश खरेलका नाममा खोलिएका नक्कली एकाउन्टबाट पोष्ट भएका सामग्रीका विषयमा मैले मंगलबार मेरा फेसबुक फ्रेन्ड र ट्वीटर फलोअर्सहरुलाई जानकारी गराएँ,’ सोसल मिडिया विज्ञ एसएसपी सुब्बाले भने, ‘अमेरिकामा एक तालिमकर्ताले फायर प्रुफ ज्याकेट लगाएर आगो सल्काएको फोटोलाई टीकापुरको घटनासँग जोडेर प्रचार गलत प्रचार गरिरहेको थियो। त्यस्ता फोटो सेयर गर्ने कतिपय सरकारी कर्मचारीहरुलाई नै मैले सही कुराको जानकारी मंगलबार नै गराएँ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी के हो ?

अनलार्इनमार्फत् प्रयाेग गरिने सामाजिक सञ्जालले विश्वको एउटा कुनामा भइरहेको घटनालाई विश्वभरका मानिसको सामु एकसाथ र तुरुन्तै पुर्याउँछ। तर, ‘ए सामाजिक सञ्जाल त हो नी’ भनेर बेवास्ता गर्ने प्रवृत्तिले धेरै हानी पुर्याउँछ। त्यस्ताे प्रवृत्ति सबैले त्याग्नु पर्ने बताउँछन् सोसियल मिडिया विज्ञ एवं एसएसपी सुब्बा।

कुनै पनि विषयप्रति आम मानिसको धारणा सकारात्मक वा नकारात्मक बनाउन सोसियल मिडियाको भूमिका निकै प्रभावकारी हुने भएकोले सामाजिक सञ्जालमा असामाजिक हर्कतहरु कसैले पनि देखाउन नहुने उनको भनाइ छ। ‘कसैलाई काटेको, जलाएको, मारेको, बलात्कार गरेको जस्ता विभत्स फोटो, भिडियो र पाठ्य सामग्री राख्नुअघि आफ्नो वा आफ्ना आफन्तको त्यस्तै भिडियो कसैले राखिदियो भने के होला भनेर एक पटक सोच्नु पर्छ,’ उनी भन्छन्, ‘गोपनियताको मर्यादा हरेक क्षेत्रमा पालना गर्नुपर्छ। सामाजिक सञ्जालमा झनै बढी ख्याल गर्नुपर्छ । आफूले प्रकाशित गर्ने सामग्रीले कसलाई कस्तो असर पार्छ भन्ने विषयमा आलोचनात्मक तरिकाले सोच्नु पर्छ।’

फेसबुक, ट्वीटरलगायत सञ्जालमा आफ्ना साथी वा फलोअर्सले केही सामग्री पाेष्ट गर्नासाथ विचारै नपुर्याई तत्कालै शेयर, लाईक, कमेन्ट, रिट्वीट तथा फेबरेट गर्ने बानी त्याग्नु पर्ने उनको सुझाव छ।
-Nagariknews-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button