विमानस्थलको सुनकाण्डः ‘कामरेड’देखि भारतीय तस्करसम्म
२० पुस, काठमाडौं । ऐतिहासिक छिन्ताङ काण्डका बेलामा त्यहाँ खटिएका तत्कालीन क्रान्तिकारी कम्युनिष्ट (माले) नेता यमनाथ बराल अहिलेसम्मै भूमिगत छन् । उनी केही समय विमानस्थलमा सुनको कारोबार गर्थे भन्ने छिन्ताङबासीको भनाइ छ । अहिलेसम्म सार्वजनिक जीवनमा नदेखिएका उनले विदेशमा ऐयासी जीवन बिताइरहेको चर्चा चल्ने गरेको छ । तर, उनी व्यवसायिक कारोबार गर्दैछन् या छैनन्, थाहा छैन ।
विगतमा यसरी कम्युनिष्ट क्रान्तिकारी नेतासँग जोडिने सुन तस्करीको कथा केवल कथामै सीमित छ । तर, विहीबार जतिबेला त्रिभुवन विमानस्थलबाट ३४ किलो सुन भित्रिएको सनसनी खेज समाचार बाहिर आयो, यसले सुन तस्करहरुको ‘नेक्सस’ र इतिहासको निरन्तरतामाथि गहिरो अनुसन्धानको आवश्यकता खड्काएको छ ।
भूपि शेरचनले भनेजस्तै यो हल्लै हल्लाको देशमा एक समय विमानस्थलको सुन कारोबारमा वामदेव गौतम र लोकमानसिंह कार्कीको समेत नाम जोडिने गरेको थियो । केही पूर्वप्रहरी अधिकारीहरुका अनुसार भन्सार जाँचपास गर्नेक्रममा गाडीको इञ्जिनमा फिट गरेर समेत सुनको तस्करी त्रिभुवन विमानस्थलबाट हुने गरेको इतिहास छ । र, यो तस्करीमा सामान्य मानिसहरु मात्रै नभएर ठूलाबडाकै संलग्नता हुने गरेको अधिकारीहरुले किस्सा सुनाउने गरेका छन् ।
भारतीय तस्करबाट नेपाली भूमिको प्रयोग
विहीबार फेला परेको ३४ किलो सुन भारतीय तस्करको रहेको उनका नेपाली सहयोगीहरुले प्रहरीलाई प्रारम्भिक वयान दिएका छन् । यसले के देखाएको छ भने भारतका सुन तस्करहरु ले नेपालको हजाइ मार्ग र नेपाली ‘बहादुर’ युवालाई समेत प्रयोग गरिरहेका छन् ।
विहीबार पक्राउ परेका व्यक्तिहरुको वयानबाट थप के पनि स्पष्ट भएको छ भने विमानस्थलबाट यसरी किलोका किलो सुनले भरिएका सुटकेसहरु भित्रिएको यो पहिलो घटना होइन । यिनै व्यक्तिले पहिले पनि विमानस्थल भन्सारका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएरै यहाँबाट सहजै सुन ओसार्ने गरेका थिए । र, उनीहरुले यसरी ओसारेको सुन भारतीय ‘मालिक’ समक्ष पुर्याउने गरेका थिए । भलै यसपटक चाँहि प्रहरीले ‘चोर’ समात्न सफल भयो ।
त्रिभुवन विमानस्थलमा सुन तस्करीको कथा सामान्य छैन । र, यो कथा अहिलेको मात्रै नभएर इतिहासदेखि नै जोडिँदै आएको अपराध हो । यसमा प्रतिष्ठित नेता, कर्मचारी र प्रकाश टिबडेवालजस्ता व्यवसायीहरुको नामसमेत जोडिँदै आएको छ ।
तस्करबाट बरामद भएको सुन पनि अपरादर्शी हुने गरेको छ । र, यसमा ‘चोरीमाथि चकारी’ समेत हुने गरेको छ ।
बिहीबार के-के भयो ?
नेपालगञ्जका गोपाल शाही बुधबार साँझ ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए । दुबईबाट एयर अरेबियाको जहाजमा काठमाडौं उत्रिएका शाहीसँग दुईवटा लगेज पनि थिए । उनका दुबै लगेज विमानस्थलमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीदेखि भन्सार कर्मचारी समेतले चेकजाँच गरे ।
एक्सरे मेसिनमा राखेर पनि हेरे । तर, उनीहरुले त्यसमा केही देखेनन् । लगेज सुरक्षितरुपमा भन्सारमा लगेर राखियो ।
बिहीबार दिउँसो करिब २ बजेतिर शाही भन्सारमा राखिएका आफ्ना लगेज लिन विमानस्थल पुगे । भन्सारबाट आफ्नो लगेज जस्ताको त्यस्तै बुझे र त्यहाँबाट बाहिरिए ।
विमानस्थलबाट निस्किएलगतै सादा पोशाकमा खटिएका सीआइबीका जवानले उनलाई नियन्त्रणमा लिए । किनकि उनले ल्याएको त्यो सुडकेस चानचुने थिएन भन्ने सुइँको सुरक्षाकर्मीले पाइसकेका थिए ।
प्रहरीको नियन्त्रणमा रहेका शाहीले भने ‘मेरो सबै लगेज चेक भएको थियो । तर विमानस्थलको सेटिङ उतैबाट मिलाएको थियो, कसले मिलायो थाहा छैन ।’
शाही दुबईबाटै सुन बोकेर नेपाल आएका थिए । उनले सुन दिने व्यक्तिका बारेमा खुलाएका छैनन् । तर, नेपालमा सुनको जिम्मा लिने थप दुईजना पनि सीआइबीको घेराबाट उम्किन सकेनन् । बा ४ च ९११४ नम्बरको टेरिस गाडी लिएर सुन बोक्न पुगेका धनुषाका सन्तोष काˆले र मोरङका दिलबहादुर थापालाई पनि सीआइबीले पक्राउ गरेको छ ।
प्रहरी हिरासतमा रहेका थापाले आफूलाई सुन लिन भारतीय नागरिकले पठाएको बताएका छन् । उनको भनाइ छ- ‘मलाई भारतीय नागरिकले लिन दुबई पठाएका हुन्, दुबईबाट कसले ल्याउँछ, मलाई केही पनि भनिएको थिएन ।’
प्रहरीसँगको प्रारम्भिक वयानमा थापाले आफुले यसअघि पनि यसरी नै सुन बोकेको बताएका छन् । शाहीले दुबईबाट सुन पठाउने विवरण खुलाएका छैनन् ।
तस्करहरुले दुबईबाट सुन हालेर ल्याएको भाँडोलाई हेलिकप्टरको सामान भनेको बताइएको छ । तर, कसको हेलिकप्टरका लागि सामान ल्याइएको थियो भन्न खुल्न सकेको छैन । यो सुन नेपालकै चर्चित व्यवसायीहरुको हुन सक्ने ब्युरोका अधिकृतहरुको आशंका छ ।
सुटकेस फुटाउँदा के-के भेटियो ?
एयर अरेबियाबाट आएको सुटकेस र सुरुमा पक्राउ परेका शाहीलाई लिएर सीआइबीको टोली सिधै गौशाला प्रहरी वृत्तमा आए । र, शाहीले दिएको सूचनाकै आधारमा थापा र काˆले पनि नियन्त्रणमा आए । त्यसपछि सीआइबीको टोलीले सुटकेर खोल्यो ।
सुटकेसभित्र प्लाष्टिकले बेरिएका भाँडाहरु थिए । त्यसभित्र बोतलजस्तो देखिने टेपले बेरिएको एउटा भाँडो पनि देखियो । निकै सकस गरेर प्रहरीले टेप निकाल्यो । फलामको जस्तो बोतलभित्र कालो टेपले बेरिएको अवस्थामा साना-साना सुनका लाप्साहरु देखिए ।
त्यहीँ कालो टेपभित्र १० तोला दरका सुनका बिस्कुटहरु थिए । दुईवटा सुटकेसभित्र तीनवटा फलामको भाँडोमा राखेर ल्याइएका २८२ सटा सुनका बिस्कुट, १९ वटा औंठी र १८ वटा सिक्री भेटिए । सबै गरेर लगभग ३४ किलो भएको एसपी मिरा चौधरीले बताइन् ।
नेपालमा मात्रै कि दुबईमै सेटिङ ?
दुबईबाट एयर अरेबियाको जहाजबाट आएको सुनैसुनले भरिएको सुटकेसले विमानस्थलको सुरक्षा व्यवस्था मात्रै पार गरेन, रातभरि यहीँ बस्यो । नेपालको विमानस्थलबाट त सुन समातियो । तर, सुरक्षामा राम्रो रहेको दाबी गर्ने दुबईको विमानस्थलबाट यो सुन कसरी छिर्यो ? यसले हाम्रो भन्दा पनि दुबई विमानस्थलको सुरक्षा फितलो प्रमाणित भएको छ ।
नेपालमा बन्दी जीवन बिताइरहेका ‘सिरियल किलर’ चाल्र्स शोभराजले त्यसै भनेका होइनरहेछन्, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट म हात्ती पनि छिराइदिन सक्छु ।
मुलुकको एकमात्रै अन्तराष्ट्रिय विमानस्थलको सुरक्षामा देशका सबै सुरक्षा संगठन खटिएका छन् ।
अध्यागमन विभागका कर्मचारीदेखि खुफिया एजेन्सीसम्म खटिएको विमानस्थलबाट हात्तीभन्दा महंगो सुन छिराउने दुस्साहसी युवाहरुलाई पक्रेर प्रहरीले विहीबार सार्वजनिक गर्यो । तर, यसमा संलग्न ठूलाहरु अझैसम्म जोगिइरहेका छन् ।
अभियुक्त भन्छन्- विमानस्थलमा पहिल्यै सेटिङ थियो
सीआइबीले हवाइमार्गबाट ल्याएको यति ठूलो परिमाणमा सुन बरामद गरेको पहिलोपटक हो । विमानस्थलको सबै सुरक्षा घेरा पार गरेर सुन काठमाडौंमा मात्रै आइपुगेन, रातभर विमानस्थलमै राखियो ।
रातभरि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारले किन यो सुनबारे पत्तो पाएन ? प्रहरी नियन्त्रणमा रहेका गोपाल शाही भन्छन्- ‘मैले उताबाट बोकेर मात्रै ल्याएको हो, भन्सार र विमानस्थलको सेटिङ उनीहरुले नै मिलाएका हुन् ।’
हत्कडी लगाएर राखिएका दिलबहादुर थापा पनि विमानस्थलका कर्मचारीकै सेटिङमा सुन आएको बताउँछन् । विमानस्थलबाट सुन कसरी सफलतापूर्वक बाहिर आयो र भन्सारका कर्मचारी एवं प्रहरीले नभेटेको सुन सीआइबीले मात्रै कसरी समाउन सक्यो ? यो जिज्ञासामा थापाले भने- भन्सारमै सबै सेटिङ हुन्छ ।
प्रहरी अधिकारी के भन्छन् ?
सीआइबीका प्रमुख डीआइजी नवराज सिलवाल तस्करहरुले यसरी हवाइ मार्ग प्रयोग गर्नु निकै संवेदनशील विषय भएको बताउँछन् ।
उनी भन्छन्- ‘नेपालमा डलर अभाव हुन थालेपछि हामीले अनुसन्धान गर्दै थियौं । अहिले हामीलाई दुबईबाटै सूचना आयो र त्यहीअनुसार यिनीहरु पक्राउ परे । तर भन्सारबाट कसरी सजिलै सुन बाहिर आउन सक्यो, यो आश्चार्यको विषय छ ।’ यत्रो परिणामको सुन तस्करीमा भन्सारभित्रै कसको सेटिङ थियो भन्ने अनुसन्धान गर्ने क्षेत्राधिकार आफ्नो पनि नभएको डीआइजी सिलवाल बताउँछन् ।
भन्सारकै कर्मचारीसँगको सेटिङविना यत्रो परिणामको सुन ल्याउन सम्भव नहुने ब्युरोका अधिकारीहरु बताउँछन् ।
के यो घटना प्रहरीको बहादुरीमा मात्रै सीमित हुन सक्छ ?
विमानस्थलबाट प्रहरीले ३४ किलो सुनसहित तस्करलाई पक्राऊ गरेको विषय सीआईबीका प्रहरी कर्मचारीको बहादुरीको विषय मात्रै बनिनुहुँदैन । यो नेपालको अर्थतन्त्र र सुरक्षाको लागि असाध्यै गम्भीर विषय हो ।
दुबईमा रहेका अन्तरराष्ट्रिय अपराधी दाउद इब्राहिमको सम्पत्ति जफत भइरहकेका बेला सोही मुलुकबाट यति ठूलो परिणाममा सुन भित्रिनु र यसमा भारतीय अपराधीहरुले नेपालको हवाइमार्ग प्रयोग गर्न निकै नै सम्वेदनशील विषय हो ।
र, यस्तो अपराध विमानस्थलबाट पहिले पनि भएको अपराधीहरुले बताइसकेका कारण अब सरकारले विमानस्थल भन्सारका सबै कर्मचारीलाई र सुरक्षा जाँचमा बसेका प्रहरीलाई तुरुन्त त्यहाँबाट हटाएर नयाँ टीम पठाउन जरुरी छ । र, यति गरिसकेपछि उनीहरुमाथि छानविन आवश्यक छ ।
यसबा साथै सुन तस्करीमा प्यादाका रुपमा प्रयोग गरिएका बेरोजगार युवालाई मात्रै समातेर प्रहरीको दायित्व पूरा हुँदैन । यो सुन कसले बुझ्ने गरेको थियो र यसको सेटिङ कहाँसम्म हुने गरेको थियो, त्यो पत्ता लगाउनुपर्छ । यसमा नेता, सरकारी हाकिम वा प्रतिष्ठित घरानाका व्यवसायीहरुको समेत हात भेटिए पनि त्यसलाई कारवाहीको दायरामा नल्याएसम्म ‘यति सुन भेटियो’ भनेर मनोरञ्जन मात्रै गरेर मुलुकको आर्थिक, सामाजिक सुरक्षा सम्भव छैन ।
त्यसैले यो सुनकाण्डलाई प्रहरीले कसरी लिन्छ र यसको अनुसन्धान कहाँसम्म लैजान्छ भन्ने विषय अहिलेका लागि अहम सवाल हो ।
-Onlinekhabar-
प्रतिक्रिया लेख्नुहोस