राष्ट्रपतिद्वारा नेपालको संविधान जारी
३ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे ।
राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।
राष्ट्रपतिले भने-सबै नेपाली र राष्ट्रको जय होस्
संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जय होस् भन्ने कामना गरे । उनले सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका छन् ।
राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू हुनेछ । संविधान जारी भएको सात दिनभित्रमा अब नयाँ सरकार गठन गर्नुपर्ने छ भने एक महिनाभित्रमा राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ । राष्ट्रपतिले संविधान जारी गरिरहँदा भव्य रुपमा सिँगारिएको संविधानसभा परिसरमा बेलुनहरु उडाइएको थियो ।
संविधान घोषणाका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउने क्रममा राष्ट्रपतिलाई बबरमहलदेखि रिसल्ला घोडचढीहरुले अगाडि र पछाडिबा स्कटिङ गरेका थिए । नयाँ बानेश्वरस्थित संविधानसभामा प्रवेश गर्दा राष्ट्रपतिलाई छेउछाउमा लामवद्ध जनताले हात हल्लाएर स्वागत गरेका थिए ।
संविधानसभामा प्रवेश गर्नुअघि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्ष र महासचिवले राष्ट्रपतिलाई स्वागत गर्दै संविधानसभाभित्र प्रवेश गराएका थिए ।
राष्ट्रपतिलाई संविधानसभाको धन्यवाद
संविधान जारी गरी प्रारम्भ भएको घोषणा गरेपछि राष्ट्रपतिलाई संविधानसभाले धन्यवाद प्रस्ताव सर्वसम्मपतिले पारित गर्यो । संविधानसभाले गडगडाहट तालीका वीच राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गरे ।
त्यसपछि सभाध्यक्षले संविधानसभाले गरेका कामहरुको विवरण पेश गरे । २०७० माघ ८ गतेदेखि संविधानसभा बैठक बसेको र हालसम्म ३२८ घण्टा ४५ मिनेट व्यतित गरेको संविधानसभा अध्यक्षले सुवास नेम्वाङले जानकारी गराए ।
-Onlinekhabar-
प्रतिक्रिया लेख्नुहोस