राज्यलक्ष्मीले भनिन्-एमालेलाई ६ करोड बढी दिएको छु
९ कात्तिक, काठमाडौं । नेकपा एमालेका सांसद राज्यलक्ष्मी गोल्छाले आफूले एमाले पार्टी र नेताहरुलाई ६ करोड बढी चन्दा दिएको दाबी गरेकी छन् ।सोमबार पत्रकार सम्मेलन गरेर गोल्छाले सांसद पदबाट कुनै हालतमा राजीनामा नदिने समेत बताएकी छन् । एमालेले प्रधानमन्त्री निर्वाचनमा अनपुस्थित भएको भन्दै गोल्छालाई राजीनामा दिन निर्देशन दिएको थियो ।
गोल्छाले भने आफूलाई भारतीय बेटी भन्दै राजीनामा दिन दबाव दिएको बताएकी छन् । आफू अस्वस्थ भएकाले संसदमा अनुपस्थित भएको भन्दै उनले स्पष्टिकरणको मौका समेत नदिएको गुनासो गरिन् ।
सांसद गोल्छाले योगेश भट्टराई, प्रदिप ज्ञवाली, गोकर्ण विष्ट लगायतका नेताहरुले फोन गरेर अंगीकृत नागरिकता, जातको कुरा गरेर अपमान गर्नुका साथै राजीनामा दिन टर्चर दिएको आरोप लगाइन् ।
उनले केन्द्रीयदेखि स्थानीय नेता र युवा संघलाई आफूले निकै आर्थिक सहयोग गरेको समेत बताएकी छन् । गोल्छाले भनिन्-‘हिसाबै गर्ने हो भने ६ करोडभन्दा माथि पुग्छ । भूकम्पको बेला युवा संघमार्फत गरेको र अन्य हिसाब जोड्ने हो भने १५ करोड भन्दा बढी रकम एमालेलाई दिएको छु ।’
उनले सांसद कोष र पारिश्रमिक बापत आफूले पाउने रकम समेत पार्टीलाई नै दिने गरेको बताइन् ।
-Onlinekhabar-
प्रतिक्रिया लेख्नुहोस