मधेसी नेतालाई पद्मरत्नको आग्रह, ‘कृपया आत्मसमर्पण नगर्दिनुस’
काठमाडौं–नागरीक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले मधेशमा आन्दोलनरत मोर्चाका नेताहरुलाई सरकारसँग आत्मसमर्पण नगर्न आग्रह गरेका छन् । बिहीबार राजधानीमा आयोजित नागरिक ऐक्यबद्धता सभामा बोल्दै तुलाधरले भने, ‘म मधेश आन्दोलनसँगै हुनेछु, अब सिंहदरबार कब्जा गर्ने पालो हाम्रो हो । जनजाती र मधेशीहरु अब प्रधानमन्त्री बन्नुपर्छ ।’ ‘दश बर्षको उमेरदेखि म सडकमा हिँडे ।
गणेशमान सिंह झण्डा फर्फराएर हिँड्दा हामी भद्रकालीमा बसेर ताली पिट्थ्यौं । जनताको मुक्तिका लागि म अहिले पनि सडकमा छु ।’ तुलाधरले भने, ‘नेपालका सबै जनतालाई समानुपातिक अधिकार दिनुपर्छ, कसैलाई हेलाँहोचो गर्न मिल्दैन । जनजाती आन्दोलन जारी छ हामीले समर्पण गरेका छैनौं ।’
विगतमा भएका पटक–पटकका आन्दोलनहरु सम्झौतामा टुंगिएकाले नेपाली जनताले धोका पाएको उल्लेख गर्दै तुलाधरले भने, ‘विगतका मधेश आन्दोलन पनि सम्झौतामा टुंगिएको थियो, त्यसको साक्षी म र दमननाथ ढुंगाना थियौं । त्यतीबेलाको सम्झौता लागु नभएपछि मधेसीहरु फेरी सडकमा आउन बाध्य भए ।’
अहिले सिंहदरबारमा बस्नेहरु आफुभन्दा देशभक्त नहुने दावी गर्दैै तुलाधरले भने, ‘पटक–पटक दिल्लीमा गएर लम्पसार हुनेहरु कसरी देशभक्त हुन्छन् ?’
-Ratopati-
प्रतिक्रिया लेख्नुहोस