प्रदेश २ चुनाव : शान्तिपूर्ण उम्मेदवारी
२१ भाद्र २०७४-प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत तेस्रो चरणमा आगामी असोज २ गते उक्त प्रदेशका आठ जिल्लाका स्थानीय तहमा मतदान हुँदै छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण भएको जनाएको छ । प्रवक्ता नवराज ढकालले प्रदेश २ का ८ वटै जिल्लामा उम्मेदवारी दर्ता उत्साहजनक भएको बताए । प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । ती सबैमा गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने छन् । आयोगमा साँझ साढे ६ बजेसम्म प्राप्त विवरणअनुसार १८ हजार २ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय छुट्याइएकोमा प्राय:जसो निर्वाचन अधिकृतको कार्यालयमा साँझ अबेरसम्मै प्रक्रियागत काम भएको थियो । ५ बजेभित्र निर्वाचन कार्यालयमा प्रवेश गरिसकेकाको उम्मेदवारी दर्ता गरिएको र प्रक्रिया पूरा गर्न अबेरसम्म काम भएको ढकालले जनाए । उनले उम्मेदवारी दिनेको नाम आउने क्रम जारी रहेकाले संख्या अझै थपिने बताए ।
उम्मेदवारहरू बाजागाजा, झाँकी र समर्थकको भीडसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । प्रत्येक स्थानीय तहका केन्द्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । यसअघि निर्वाचनमा भाग नलिने अडानमा रहेको राष्ट्रिय जनता पार्टी पनि आएकाले उम्मेदवारी दर्तामा रौनक थपिएको छ ।
पहिलो र दोस्रोजस्तै तेस्रो चरणका लागि पनि व्यापक उम्मेदवारी परेको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये पहिलो चरणमा वैशाख ३१ मा प्रदेश ३, ४ र ६ का २ सय ८३ स्थानमा निर्वाचन भएको थियो । पहिलो चरणमा १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ३ सय ३७ उम्मेदवारी परेको थियो । त्यस्तै, असार १४ गते भएको प्रदेश १, ५ र ७ को ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ पदका लागि ६२ हजार २ सय ४० उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया लेख्नुहोस