पीडितलाई सघाउन साहित्य र डकुमेन्ट्री
काठमाडौं– भूकम्पपीडितको सहयोगार्थ शिल्पी नाटकघरले शनिबार आयोजना गरेको विविध कार्यक्रमबाट ३२ हजार रुपैयाँ संकलन भएको छ। किताब साटासाट, कविता वाचन, डकुमेन्ट्री शो र सम्वाद कार्यक्रमको आयोजना गरेको शिल्पीले पुस्तकको बिक्री तथा दाताहरुको सहयोगबाट उक्त रकम संकलन भएको कार्यक्रम संयोजक घिमिरे युवराजले जनाए।
सशुल्क कविता वाचनमार्फत् भूकम्प पीडितका लागि राहत संकलन गर्दै आएको शिल्पीले आज पनि कविता वाचनबाटै कार्यक्रमको सुरुवात गरेको थियो। तर अघिल्लो शनिबारजस्तो यो शनिबार भने कविता वाचन सशुल्क भने थिएन। शिल्पीको अभिमञ्चलाई साहित्यिक रङ दिन कविहरु अभय श्रेष्ठ, उज्ज्वला महर्जन र रावतले कविता वाचन गरेका थिए।
अभय श्रेष्ठले भूकम्पले पारेको प्रभावका बारेमा कविता सुनाउँदै वाचनको सुरुवात गरेका थिए। ६–६ वटा कविता वाचन गरेका अभयले भूकम्पका कारण लेखनीमा प्रभाव पारेको बताए।
‘मुश्किलले पत्रिकाका लागि चारवटा लेख लेख्न सकेँ। साहित्य लेख्न अझै सकेको छैन,’ अभयले भने। भक्तपुर गुन्डुका बासिन्दा अभयले हाल गाउँमा भूकम्पले प्रभावित भएका बालबालिकालाई छात्रवृत्ति दिलाउने अभियानमा लागेको र हालसम्म १९ जना बालबालिकालाई छात्रवृत्ति दिलाउन सफल भएको सुनाए।
उज्ज्वला महर्जनले भने अंग्रेजी नेपाली मिश्रित अनभूतिजन्य ६ वटा कविता सुनाइन्। दैनिक जीवनका घटनालाई कविताको स्वरुप दिएकी उज्ज्वलाका कविताले धेरै स्रोताको मन जितेका थिए।
त्यसैगरी रावतले पनि ‘तिमी आउँदा’, ‘समय चक्र’ लगायतका कविता सुनाएका थिए। कार्यक्रमको दोस्रो खण्डमा बुक साइनिङ सेसन चलेको थियो। लेखक नारायण ढकालले सो कार्यक्रममा उपस्थित हुँदै आफ्नो नयाँ उपन्यास ‘वृषभ वध’मा हस्ताक्षर गरेका थिए। हस्ताक्षर लिनेमा कानूनमन्त्री नरहरि आचार्य पनि सामेल थिए। उनले ‘वृषभ वध’मात्र लिएनन् मुगुका किशोरीले फुटबलमा हासिल गरेको सफलतामा आधारित रहेको डकुमेन्ट्री फिल्म ‘सुनाकली’ पनि हेरेका थिए। भोजराज भाटद्वारा निर्देशित फिल्म प्रेरणादायी रहेको उनको प्रतिक्रिया थियो।
लेखिका शारदा शर्माले भने ५ हजार रुपैयाँ बराबरका किताब किनिन्। ‘शाश्वत नारी’, ‘सिद्वार्थ’ र हिटलर र विन लादेनको जीवनी किनेकी उनले नाम सुनेको तर पढ्न नभ्याएका किताब किनेको जानकारी गराइन्। ‘अरु दिन र आज किताब किन्नुमा विशेष अर्थ छ। केही किताब खोजिरहेकी पनि थिएँ। यहाँ पाएँ र किनेँ,’ शर्माले भनिन्।
कार्यक्रमको अन्तिम चरणमा ‘लाटो संवाद’मा उपेन्द्र सुब्बासँगै लेखकहरु नयनराज पाण्डे, सुरेश ढकाल र गुरुङ सुशान्त लेखनका विषयमा गफिएका थिए। दीपक सापकोटाले सहजीकरण गरेको कार्यक्रममा सुब्बाको नयाँ कथाकृति ‘लाटो संवाद’सँगै लेखनका नयाँ शैली, शिल्प र विषयमा छलफल गरेका थिए।
मुख्यतया भूकम्प पीडितका लागि भनेर आयोजना भएको कार्यक्रमा किताब साटासाट कार्यक्रमबाट १६ हजार ६ सय रुपैयाँ, फाइन प्रिन्टबाट १० हजार रुपैयाँ र दाताबाट ६ हजार ५ सय रुपैयाँ संकलनभएको घिमिरे जानकारी गराए। उनले अघिल्लो हप्ताको ७० हजार रुपैयाँ समेत गरी कुल एक लाख रकम जम्मा भएको बताए। शिल्पीले जम्मा भएको रकम पुनर्स्थापनमा खर्चने जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस