नेपाल ३ विकेटले विजयी, यू १९ विश्वकपका लागि छनोट
कार्तिक ५, २०७२- आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ ।
यो जितसँगै नेपालले सातौंपटक यू १९ विश्वकप खेल्ने पक्का भएको हो । मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । पहिलो विकेट मात्र ९ रनमा गुमाएको आयरल्याण्डको पारीलाई मध्यक्रमका ब्याट्स्म्यानहरुले सम्हालेका थिए । आयरल्याण्डका लागि ग्रे म्याक्लिन्टकले ४५, एन्ड्य्रु अस्टिनले ४४ र लोरकन टकरले ३३ रन बनाएका थिए ।
आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन बनाउन सक्यो । १८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका प्रारम्भिक ब्याट्स्म्यान सन्दिप सुनारलाई पहिलो बलमै गुमाएको थियो । सन्दिपले हिजो बुधबार आयरल्याण्डसँगकै खेलमा ८५ रन बनाएका थिए । अर्का ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७ रन बनाए । उनले हिजोको खेलमा ७५ रन बनाएका थिए ।
यस्तै नेपाल नेपालका मध्यक्रमका ब्याट्स्म्यान राजु रिजालले ३५ रनको योगदान दिएका थिए । यस्तै आरिफ शेखले २१ र दिपेन्द्रसिंह ऐरीले २६ रन बनाएका थिए । नेपालका लागि बलिंङ तर्फ आरिफ शेखले ३ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै मात्र २१ रन दिएका थिए । अर्का बलर ललितनारायण राजवंशीले ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३६ रन दिएका थिए । दिपेन्द्र ऐरीले पनि २ विकेट लिएका थिए । बुधबार आयरल्याण्ड सँगै भएको खेलमा कसिलो बलिङ गरेका प्रेम तामाङ भने आज चलेनन् ।
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् । आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
-eKantipur-
प्रतिक्रिया लेख्नुहोस