National News

नेपाल– चीन थप तीनवटा नाका खोल्न सहमत

काठमाडौं: नेपाल र चीनबीच थप तीनवटा व्यापारिक नाका खोल्ने सहमति भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीचको व्यापार सहजीकरण समितिको शनिबार सम्पन्न छैंठौ बैठकमा नेपालले राखेको प्रस्तावमा यो सहमति भएको हो ।

दुई देश बीचको व्यापार प्रबद्र्धन गर्न दोलखाको लामाबगर, गोर्खाको छेकम्पार र लार्के र मुगुमा गरी थप तीनवटा नयाँ नाका खोल्ने सहमति भएको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले जानकारी दिए ।

सहमति अनुसार अतिरिक्त व्यापारिक नाका विकास गर्न सम्भाव्यता अध्ययन तथा पूर्वतयारीका काम चाँडै सुरु हुने भएको छ । भूकम्पका कारण तातोपानी र रसुवागढी नाका अबरुद्ध हुँदा द्विपक्षीय व्यापार ठप्प छ । दुई देशबीच हाल ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथान्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, मुस्ताङ् र हुम्लाको यारी गरी ६ वटा व्यापारिक नाका छन् ।

२०६८ माघमा नेपाल भ्रमणमा आएका तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओ र तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच ६ वटा नाकामध्ये तीनवटालाई द्विपक्षीय व्यापारमा र तीनवटालाई अन्र्तराष्ट्रिय नाकाका रूपमा बिस्तार गर्ने सहमति भएको थियो । यसमध्ये तातोपानी र रसुवागढी नाका बढि प्रयोगमा छन् । तर वैशाख १२ को भूकम्प पछि ति दुई व्यापारिक नाका क्षतिग्रस्त भएका कारण नेपाल र चीनबीचको व्यापार लगभग शून्यमा झरेको छ ।

बैठकमा भूकम्पका कारण क्षतिग्रस्त भएका रसुवागढी—जिलोङ र तातोपानी—खासा (झामु) भन्सार नाकाहरु यथाशीघ्र सञ्चालन गर्ने सहमति भएको वाणिज्य मन्त्रालयले जनाएको छ । यसैगरी सिन्धुपाल्चोकको लार्चास्थित खुख्खा बन्दरगाह निर्माणलाई चाँडो टुंग्याउने सहमति भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा चीनको स्वशासित क्षेत्र तिब्बतका डेपुटी सेक्रेटरी जनरल सिडेन न्यान्जी नेतृत्वको १० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल सहभागी भएको थियो । नेपालको पुर्ननिर्माणमा सहयोग पुर्‍याउन चीन प्रतिबद्ध रहेको उनले बैठकमा बताए ।

बैठकमा नेपाल र तिब्बतबीच व्यापार सहजीकरणको लागि भन्सार प्रक्रिया सहजीकरण गर्ने, चीनले नेपाललाई उपलब्ध गराएका ८ हजार ३० बस्तुमा उपलब्ध गराएका ड्युटी फ्री—कोटा फ्रि, सुबिधालाई थप प्रभावकारी बनाउन, औद्योगिक वस्तुको गुणस्तर प्रमाणीकरण गर्न लागि तीन महिनाभित्र सूची आदानप्रदान गर्ने सहमतिसमेत भएको छ ।

पशु तथा कृषिजन्य वस्तु सबन्धी म्युचुअल रिकगनिसन एग्रिमेन्ट गर्न प्रक्रिया अघि बढाउन दुवै देश सहमत भएका छन् । क्वारेन्टाइन चेक जाँच प्रक्रियामा सरलीकरण गर्ने, दुई देशका सीमानामा रहेका भन्सार कार्यालहरुबीच कार्य समय मिलान गर्ने बारेमा बैठकमा छलफल भएको थियो ।

एक अर्काका देशका सम्बन्धित निकायले जारी गरेको व्यापार सम्बद्ध पक्षको पूर्वाधार विकास गर्ने, नेपाल र चीनका सरकारी निकायले जारी गरेको औद्योगिक बस्तुको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिने पूर्व सम्झौताको प्रभावकारी कार्यान्वयन गर्नेबारे चिनियाँ पक्षसँग छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपाल र चीन सीमामा रहेका भन्सार र अध्यागमन कार्यालयहरुमा एकै समयमा काम गर्ने गरी एकरुपता हुन नसक्दा समस्या आउने गरेको छ । नेपाल र चीनबीचका बिभिन्न २२ वटा आर्थिक मुद्दामा छलफल गर्दै बैठक सकिएको हो । सहजीकरण समितिको सातौँ बैठक आगामी सन् २०१६ मा तिब्बतमा बस्ने भएको छ ।
-Annapurnapost-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button