National News

नाकामा अवरोध जारी राख्ने, काठमाडौंमा आन्दोलन चर्काउन महागठबन्धन

काठमाडौं, ११ माघ – संविधान संशोधनपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न मधेसी मोर्चाको बैठक सोमबार बस्दै छ । प्रमुख तीन दलले आफूखुसी संविधान संशोधन गरेको भन्दै मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

‘मोर्चाको बैठक सोमबार बस्दै छ’, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्नेछ ।’ सीमानाकामा जारी धर्ना कार्यक्रम निरन्तर राख्ने तयारीमा मोर्चा छ । संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले पनि नाकाको धर्ना निरन्तर राख्ने जनाएको छ ।

नाकाको धर्ना र आन्दोलन थप सशक्त बनाउने निर्णय केन्द्रीय समितिले गरेको संघीय समाजवादीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
यसैबीच मोर्चाले अब काठमाडौंलाई पनि केन्द्रित गरेर आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको नयाँ पत्रिका दैनिकमा खबर छ । सिंहदरबार घेराउलगायतका आन्दोलनका कार्यक्रमका लागि काठमाडौंका विभिन्न जनजाति पार्टी र समूहसँग सहकार्य गर्ने तयारी पनि मोर्चाको छ ।

मधेसी मोर्चाले संसद्मा रहेका विपक्षी दललाई समेटेर महागठबन्धन बनाउने तयारी गरेको छ । मोर्चाको सोमबार बस्ने बैठकमा सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले गठबन्धनको प्रस्ताव गर्ने भएका छन् ।

‘आन्दोलनलाई काठमाडौंकेन्द्रित र सशक्त बनाउन महागठबन्धन बनाउने तयारी अनुरूप मोर्चाको बैठकमा प्रस्ताव गरिँदै छ,’ सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने ।
-Nepalese.org-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button