National News

जनकपुरको चुनावी एजेण्डाः दुई नम्बर प्रदेशको राजधानी !

दलहरुवीच प्रतिष्ठाको लडाई बन्दैछ सांस्कृतिक नगरीको चुनाव

२२ भदौ २०७४, जनकपुर । ऐतिहासिक धार्मिक नगर जनकपुर नेपालका ठूला शहरमध्ये सम्भवतः सबैभन्दा प्रदुषित र अव्यवस्थित नगर हो भन्दा जनकपुरको अपमान हुने छैन । नगरबासीको सामुहिक आवाज एउटै छ- जनकपुरले राष्ट्रिय राजनीतिमा धेरै नेता दियो, तर नेताले जनकपुरलाई केही दिएनन् ।

पहिलो मधेस आन्दोलनपछि जनकपुरले धेरै चिज गुमाइसकेको छ । पुस्तौंदेखि बसोबास गरेका पहाडे समुदायलाई पहिलो मधेस आन्दोलनका बेला जनकपुरले रोक्न सकेन । जसका कारण यहाँको ब्यापार व्यवसाय र शैक्षिक क्षेत्रमा समेत जनकपुरबासीले धेरै घाटा ब्यहोरेका छन् । जनकपुरले रौनक गुमाएको छ ।

अधिकारमा अगाडि, विकासमा पछाडि

सानो पानी पर्दा पनि जनकपुर जलमग्न हुन्छ । जनकपुरको विकास किन भएन भन्दा दलहरु एक अर्कालाई आरोपित गर्छन् । पटक-पटक मधेस आन्दोलनको केन्द्र बन्ने गरेको जनकपुरमा यसबीचमा अधिकारको सवालमा जति बहस भएको छ, विकासको बहस ओझेलमा परिरहेको छ ।

सबै दलहरु सहमत भएर स्थानीय तहको चुनाव हुने भएपछि पनि जनकपुर संशयमा थियो । मधेस आन्दोलनको अग्रभागमा रहेका तर कुनै दलका आवद्ध नभएका धेरै मधेसी युवाले संविधान संशोधनविनाको चुनावलाई धोका भन्दै बहिस्कारको नारा लगाइरहेका बेला हुन लागेको चुनावमा दलहरु आ-आफ्नो पक्षमा परिणाम पार्न कस्सिएका छन् ।

पटक-पटक अधिकारको आन्दोलन र अधिकारका नारा झेलेको जनकपुरले अहिले विकासका नारा सुनिरहेको छ । निर्वाचनमा अधिकांश उम्मेदवारहरु भने विकासको एजेण्डा लिएर नै मतदाताको घरदैलोमा जान थालेका छन् ।

जनकपुर प्राचीन मिथिलाको राजधानी समेत भए पनि यसको विकास भने हुन सकेको छैन । जनकपुर विश्वभरिकै हिन्दुहरुका लागि आस्थाको केन्द्रको रुपमा रहेको भए पनि रामजनकी मन्दिर क्षेत्रको विकास समेत हुन सकेको छैन ।

जनकपुरमा बाटोघाटो र नालाको समेत समस्या विकराल रहेको छ । जताततै फोहोर देखिनु जनकपुरको पहिचान बनिसकेको छ । नालाहरु जिर्ण भएको र बाटोमा समेत हिडने अवस्था नरहेको कारणले गर्दा जनकपुरको विकास अहिले दलहरुका लागि प्रमुख चुनावी एजेण्डा बनेको छ ।

प्रदेशको राजधानी, दलीय प्रतिस्पर्धा प्रतिष्ठाको लडाइँ

जनकपुरको अर्को चुनावी एजेण्डा भनेको २ नम्बर प्रदेशको राजधानी पनि हो । जनकपुरले स्वाभाविकरुपमा प्रदेशको राजधानी दाबी गरिसकेको छ । प्रदेश राजधानी हुनका लागि आवश्यक पूर्वाधार र विकासमा उम्मेदवारले आ-आफ्ना एजेण्डा अघि सारेका छन् ।

जनकपुरण्को चुनाव नेपाली कांग्रेस र मधेसवादी दलहरुका लागि प्रतिष्ठाको विषय बनेको छ भने एमालेका लागि पनि आफ्नो औकात देखाउने उपयुक्त मौका बनेको छ । संविधान जारी भएपछि जनकपुरमा एमालेले खुलेआम कार्यक्रम समेत गर्न नसकेको अवस्थामा यो चुनाव एमालेका लागि आफ्नो शक्ति प्रदर्शन गर्ने मौका बनेको हो ।

यस अघि दुई चरणको चुनावमा एमालेभन्दा ५० सिट कम जितेको कांग्रेसका लागि जनकपुरमात्र होइन २ नम्बर प्रदेशको चुनाव जीवन मरणको सवाल बनेको छ । यसअघि चुनाव भएका ८ मध्ये एउटामात्र उपमहानगरपालिका जितेको कांग्रेसका लागि जनकपुर प्रतिष्ठाको विषय बनेको हो । त्यसमाथि कांग्रेसमा बर्चश्व स्थापित गर्दै अघि बढेका बिमलेन्द्र नीधिको क्षेत्र भएकाले पनि कांग्रेसले यहाँको चुनावमा सबै शक्ति केन्द्रित गरेको देखिन्छ ।

त्यस्तै मधेस आन्दोलनका अगुवा राजपा र संघीय समाजवादी फोरमका लागि पनि जनकपुर जित्नु उत्तिकै प्रतिष्ठाको विषय हो । विगतमा भएको दुई पटकको स्थानीय निकाय निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा कांग्रेसकै बागी उम्मेदवार स्वतन्त्र भएर चुनाव जितेका थिए । यसपटक भने बागी र स्वतन्त्र उम्मेदवार नभएकाले दलकै उम्मेदवारमध्ये एउटाले जित्नेछन् ।

एउटै जातका मेयर !

जनकपुर उपमहानगरपालिकाको निर्वाचनमा जातीय फ्याक्टर निणर्ायक हुने गरेकले यसपटक सबै दलले मेयरमा सुडी सुमदायबाट उम्मेदवार अघि सारेका छन् । जातीय आधारमा नै जित हार हुने भएकाले मेयर र उपमेयरमा जातीय सन्तुलन मिलाएर उम्मेदवारी दिएका छन् दलहरु ले ।

नेपाली कांग्रेसले मेयरमा मनोज साहलाई उम्मेदवार बनाउँदा धेरैले अचम्म माने । उनीभन्दा धेरै सिनियर कांग्रेस नेताहरुलाई पन्छाएर बिमलेन्द्र निधिले मनोजलाई अघि सार्नुमा जातीय फ्याक्टरले काम गरेको बताइन्छ ।

एमालेले अन्तिम घडीसम्म कांग्रेसमा बिद्रोह गरेर आउनेलाई टिकट दिने चर्चा चलिरहेको थियो । तर अन्तिममा सुडी समुदायकै लक्ष्मीनारायण भगतलाई अघि सारियो । यादव समुदायका नेता सशक्त हुँदा हुँदै पनि जातकै कारण एमालेले भगतलाई अघि सारेको हो ।

जनकपुरमा राजपाले लालकिशोर साहलाई उम्मेदवार बनाएको छ भने संघीय समाजवादी फोरमले सुडी समुदायकै बिष्णुदेव साहलाई अघि सारेको छ । राप्रपाले पनि सुडी समुदायकै राजकुमारी साहलाई अघि सारेको छ । माओवादीले चन्द्रशेखर साह र नयाँ शक्ति पार्टीले पत्रकार उमेश साहलाई मेयरको उम्मेदवार बनाएको छ ।

त्यस्तै फोरम लोकतान्त्रिकले पनि सुडी समुदायबाटै हंसराज शाहलाई उम्मेदवार बनाएको छ । जनकपुरको रोचक संयोग यो छ कि मेयर उम्मेदवार खडा गरेका ९ वटा दलमध्ये सबैले मेयरमा एउटै समुदायका व्यक्ति छानेका छन् ।

उपमेयरमा मिसमास

जनकपुर उपमहानगरपालिकामा सुडि तेली, कलवार, हलुवाई जातिको बाहुल्यता रहेका कारण सबै राजनितिक दलहरु साह समुदायबाट नै उम्मेदवार बनाएर चुनाव जित्ने दाउमा छन् ।

मेयरमा सुडी समुदायबाट टिकट दिएका दलहरुले उपमेयरमा भने अन्य जातका उम्मेदवार खडा गरेका छन् । कांग्रेसले नीलम कर्णलाई उपमेयरको उम्मेदवार खडा गरेको छ । त्यस्तै एमालेले पुनम मिश्रालाई उम्मेदवार बनाएको छ भने माओवादीले अम्बिका यादवलाई खडा गरेको छ ।

संघीय समाजवादी फोरमले रीता यादवलाई अघि सार्द राजपाले रीता झालाई उम्मेदवार बनाएको छ । फोरम लोकतान्त्रिकले पुनम चौधरीलाई उम्मेदवार बनाएको छ भने नयाँ शक्तिले गीतादेवी साहलाई उम्मेदवार बनाएको छ ।

के भन्छन् मेयरका उम्मेदवार ?

नेकपा एमालेबाट उम्मेदवार बनेका लक्ष्मीनारायण भगतले आफूले कर्मचारी हुँदा जनताको सेवा रहेको र विकासका लागि नै आफूले कर्मचारीबाट राजिनामा दिएर स्थानीय तहमा उम्मेदवार भएको बताए ।

भगतलले कृषि विकास कार्यालयका अधिकृत थिए । सो पदबाट राजिनामा दिएर उनी जनकपुर उपमहानगरपालिकाकाको मेयर पदमा उम्मेदवार बनेका हुन् ।

नयाँ शक्तिबाट जनकपुर उपमहानगरपालिकाका मेयर पदमा उम्मेदवार बनेका उमेश साहले आफूहरु नयाँ वैकल्पिक रुपमा आएको र जनकपुरले सधै नयाँ विकल्प रोज्ने गरेकाले आफू जित्ने दावी गरे ।

३० वर्षसम्म जनकपुरमा पत्रकारिता रहेको कारणले गर्दा जनकपुरको बेथितिबारे राम्रो जानकार रहेको र त्यसको समाधान खोज्नका लागि आफू उम्मेदवार बनेको उनले बताए ।

संघीय समाजवादी फोरम नेपालबाट जनकपुर उमहानगरपालिका मेयर पदमा उम्मेदवार बनेका विष्णुदेव साहले जनकपुरको विकास र मधेसी जनताको अधिकार आफनो चाहना रहेको बताए । उनले जनकपुरको विकास कांग्रेस एमालेले नचाहेको कारणले जनकपुरको नेतृत्व गर्न खोजेको बताए ।

प्रतिक्रिया लेख्नुहोस

Source
onlinekhabar
Show More

Related Articles

Check Also
Close
Back to top button