किसानहरूले नयाँ वर्ष मनाए
रामेश्वर मेहता, सिम्रौनगढ, २० जेठ – जेठ २० गते बुधवार अर्थात् असार कृष्ण पक्षको पहिलो दिन तराई–मधेसका किसानहरूले नयाँ वर्ष मनाएका छन् ।
सिम्रौनगढलगायत सो आसपासका क्षेत्रमा किसानहरूले धुमधामका साथ नयाँ वर्ष मनाए । परापूर्वकालदेखि असार कृष्ण पक्षको पहिलो दिनलाई किसानहरूले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् ।
विशेषगरी नेपालको तराई–मधेस भारत, बिहार र उत्तर प्रदेशका किसानहरू यस दिनलाई नयाँ वर्ष तथा किसान पर्वको रूपमा मनाउँछन् ।
यस पर्वको दिन नयाँ पहिरन लगाउने, मीठो खाने, आफन्तजन तथा पाहुनालाई खुवाउने र चौपायालाई समेत मीठो खानेकुरा खुवाउने गरिन्छ । यस पर्वको दिन घर छोडेर नयाँ ठाउँमा जान नहुने, घरको प्रत्येक कोठामा नयाँ माटो राख्ने, पशु बाँध्ने किलोमा ज·ली काठ गम्हारको टुक्रा राख्ने साथै घरको मुख्य प्रवेश द्वारमा निम र प्याज झुन्ड्याउने गरिन्छ ।
किसान नयाँ वर्षको दिन कसैसँग नराम्रो शब्द नबोल्ने र वर्षभरिकै लागि आत्मीयता–भाइचारा, सुखशान्ति एवं समृद्धिको कामना गर्ने चलन छ।
प्रतिक्रिया लेख्नुहोस