इन्धन अभावले शैक्षिक संस्था तिहारसम्म बन्द
१० कात्तिक, काठमाडौं । इन्धन संकटका कारण काठमाडौं उपत्यकाका विद्यालयहरु तिहारपछि मात्रै खुल्ने भएका छन् । प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्तरुपमा तिहारपछि मात्रै विद्यालय सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् ।
प्याब्सनका कार्यवाहक महासचिव राजेन्द्र बानियाँले अनलाइनखबरसँग भने, ‘ग्यास छैन, तेल छैन राष्ट्रिय संकटको घडी छ । यो अबस्थामा दशैं मान्न गाउँघरमा गएकाहरु अहिले काठमाडौं नफर्किनुस्, उतै बस्नुस् भन्ने हाम्रो आग्रह हो ।’
उनले अहिले बन्द भएको समयको पढाई जाडो विदा कटौती गरेर र शनिबार पनि पढाएर भए पनि पूर्ति गर्ने जानकारी दिए ।
बन्द अनिवार्य छैन
तर, प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय बन्द गर्न कसैलाई बाध्य भने नपार्ने स्पष्ट पारेका छन् । प्याब्सनका कार्यवाहक महासचिव बानियाँले भने, ‘हामीले अनुरोध मात्रै गरेका हौं । कसैले पढाइ सञ्चालन गर्नसक्छु भन्नुहुन्छ भने विद्यालय खोल्न सक्नुहुन्छ । बन्दै गर्नुपर्ने बाध्यता छैन ।’
यसअघि विद्यालय सञ्चालकहरुले शिक्षा मन्त्री र सचिवहरुलाई भेटेर इन्धन संकट समाधान गर्न आग्रह गरेका थिए । अन्यथा पठन पाठन सन्चालन गर्न नसकिने उनीहरुले चेतावनी दिएका थिए ।
इन्धन अभावका कारण काठमाडौं उपत्यकामा गाडीहरु कम चल्दा सर्बसाधारणहरु जस्तै विद्यालय र कलेज जाने विद्यार्थीहरु पनि मर्कामा परेका थिए । विद्यार्थीहरु ओसार्ने गाडीहरु समेत चल्न नसक्दा विद्यालय र कलेजहरुमा विद्यार्थीहरुको संख्या पातलिएको छ ।
-Onlinrkhabar-
प्रतिक्रिया लेख्नुहोस