टेलर बनिन् इन्स्टाग्राम क्वीन
पप क्वीन भनेर चिनिने २५ वर्षीया अमेरिकी गायिका टेलर स्विफ्ट अब फोटो साझेदारी गरिने सामाजिक सन्जाल इन्स्टाग्रामकी समेत क्वीन बनेकी छन् । उनले किम कार्दसियनलाई पछि पार्दै इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेमा आफूलाई पुर्याएकी हुन् । टेलरलाई बिहीबार रातिसम्म इन्स्टाग्राममा पछ्याउने चार करोड ५८ लाख बढी भएका छन् भने उनीभन्दा एक लाख कम फलोअर्ससहित किम दोस्रोमा झरेकी हुन् । यसअघि किम नै अगाडि थिइन् ।
महिना दिन अघिसम्म टेलर स्विफ्ट तेस्रो नम्बरमा थिइन् । उनीभन्दा अघि अर्की गायिका बियोन्से पनि थिइन् । तर यति बेला चार करोड ५० लाख फलोअर्सको कोसेढुंगा पार गरिसकेकी बियोन्से तेस्रो नम्बरमा पुगेकी छन् । टेलर र किम दुई भिन्न प्रकृतिका सेलिब्रेटीमा चिनिन्छन् ।
मोडल किम ठूलो नितम्ब र वक्षस्थलका कारण बढी चर्चित छिन् र फोटोमा समेत उनले तिनै वस्तुको प्रवद्र्धन गरिरहेकी हुन्छिन् । पछिल्लो पटक चार करोड ५० लाख फलोअर्स पुगेको खुसीमा पनि उनले क्लिभेज देखिने फोटो सेयर गर्दै प्रेम दर्साएकी थिइन् ।
त्यसको ठिक विपरीत टेलर भने सालिनतामा विश्वास गर्छिन् । पछिल्लो पटक आफ्नो बिरालोसँगको फोटो सेयर गरेपछि किमलाई उछिनेकी टेलरका इन्स्टाग्राममा कन्सर्ट गर्दाका फोटो र भिडियो नै अधिक छन् । दुई दिनअघि मात्रै राखिएको बिरालोसँग खेलिरहेको फोटो लाइक गर्नेको संख्या २० लाख पुगिसकेको छ ।
सेलिब्रेटीका लागि पछिल्लो समय सामाजिक सन्जाल फ्यानसँग सम्बन्ध कायम राख्ने र आफ्ना गीत/संगीतको प्रवद्र्धन गर्ने गतिलो प्लाटफर्म बन्ने गरेको छ । यति मात्रै नभई केही महिनाअघि टेलरले सामाजिक सन्जालमार्फत् नै एप्पल कम्पनीले ल्याउन लागेको नयाँ म्युजिक प्लाटफर्मले नयाँ कलाकारको शोषण गर्ने भन्दै विरोध जनाएपछि उक्त कम्पनीले क्षमा माग्दै पूर्ववत् निर्णयमा सुधार गर्न बाध्य भएको थियो ।
-eKantipur-
प्रतिक्रिया लेख्नुहोस