संसारकै सुन्दर सहर
सेवक सरकार सहर
म स्थानीय वडा कार्यालयअगाडि छु। १८औं शताब्दीको दरबारजस्तो देखिने यो भवन काठमा कुँदिएका विभिन्न आकृतिले नेपालको इतिहासको वृतान्त दर्शाएको छ। भित्र २१औं शताब्दीको आधुनिक पाँचतारे होटेलभित्र छिरेको भान हुन्छ। भित्ताहरूमा नेपालका विभिन्न जातीय विविधता झल्काउने चित्रकला र मूर्तिहरू टाँगिएका छन्। अलिपर बडेमानको पोस्टरमा लेखिएको छ— लोकतन्त्र भनेकै पारदर्शिता। अलिपर अर्कोमा— तपाईंकै सरकार, तपाईंकै सेवक!
सन् २०३० मा काठमाडौं जवाफदेहिता र पारदर्शी स्थानीय शासनको लागि ‘२१औं शताब्दीको सेवक सरकार’ मोडेल अनुशरण गरेर विश्वमा नमुना बनेको छ। नियमित स्थानीय निर्वाचन, स्रोतको चुस्त र समावेशी स्थानीय व्यवस्थापन, विपद् व्यवस्थापन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताले गर्दा नागरिक र सरकारकाबीच जित–जितको वातावरण बनेको छ।
स्थानीयहरूले सूचनाको हक ऐन प्रयोग गरी आफ्नो सहरको शासनबारे नियमित सूचना खोज्ने गर्छन् र सजिलै पाउँछन्। कुनै सूचना ४८ घन्टाभित्र दिन नसकेमा मुलुकका चुस्त रूपमा कार्यान्वयन हुने कानुनले सम्बोधन गरिहाल्छ। नागरिक पत्रकारिताले मूलधारका पत्रकारितालाई परिस्कृत गरेको छ। स्थानीय कर पारदर्शी छ। वडामा आफ्ना एक–एक रुपैयाँ कहाँ र कहिले खर्च भयो? हरेक स्थानीयलाई प्रस्टसँग थाहा हुन्छ।
विविधता झल्कने सहर
भक्तपुरको एउटा गल्लीबाट म फुत्त निक्लिन्छु। अगाडिको फुटपाथ अष्टरंगी छ भने पर्खाल भित्तेचित्रले सजिएका छन्। कुनैमा थान्काका झलक देखिन्छ भने अरूमा अमूर्त कला वा धार्मिक कला।
काठमाडौं उपत्यका यस्तो विशाल महानगर हो जसलाई विभिन्न तरिकाले आकार दिने गरिन्छ। यस विशाल सहरलाई विभिन्न नगरपालिकामा विभाजन गरिएको छ, जसबीच स्वस्थ प्रतिस्पर्धा भइरहन्छ। आफ्नोपट्टिको सहर कसरी अर्कोभन्दा अब्बल बनाउने होडबाजीमा काठमाडौं सदा निर्माण एवं पुनर्निर्माणको चक्रमा रहिरहन्छ। १५ वर्षअघिदेखि ‘जे रोप्यो, त्यही फल्यो’ भन्ने नाराका साथ टोलको विकासमा नियमित निरन्तर सुधार हँुदै छ।
विश्वकै हराभरा सहर
त्रिभुवन विमानस्थलबाट बाहिर निस्किन्छु। हल्का बतास र भर्खरै काटिएको घाँसको सुवासले स्वागत गर्छ। बिजुलीबाट चल्ने ट्याक्सीमा छिर्छु र सहरतिर लम्कन्छु। धुलोरहित फराकिला सडकमा साइकल यात्री र पैदल यात्रीको घुइँचो दृश्यावलोकन गर्दै समय कटाउँछु। कतै इँटा र सिमेन्टका पर्खाल देखिन्न। त्यसको सट्टा रूख र सुन्दर फूल, झाडीले पर्खालको रूप लिएका छन्। अलिपर अलि शान्त क्षेत्रतिर पुग्छु। त्यहाँ तीन पुस्ता परिवारका सदस्य ठूलो पिपलको रूखमुनि पिकनिक मनाइरहेका छन्।
सन् २०१५ को स्थानीय निर्वाचनलगत्तै उपत्यकाभित्रका महानगरपालिका मातहतमा निर्वाचित मेयर र वडा समितिहरू मिली काठमाडौंका खुल्ला ठाउँलाई दिगो र अपांगमैत्री बगैंचा र पोखरीहरूमा रूपान्तरण गर्न थालियो। साथै उपत्यका वरिपरिका पहाडलाई राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा परिवर्तन गरियो। पशुपतिनाथ, स्वयम्भू, चाँगुनारायण, बौद्धनाथ, वसन्तपुर, पाटन, भक्तपुर दरबार क्षेत्रजस्ता विभिन्न सम्पदा परिसर सुन्दर बगैंचाले घरिएका छन्। १५ वर्षअघि ‘एक जीवन : एक रूख’ अभियान थालिएको थियो, जहाँ हरेक काठमाडौंवासीलाई आफ्नो जीवनमा एउटा रूख हुर्काउन प्रेरित गरिएको थियो।
यहाँ पेट्रोलियम पदार्थको इन्धनबाट चल्ने सवारी साधन प्रयोग नगरेबापत करमा विशेष छुट दिने प्रावधान राखिएको छ। कुनै पनि पूर्वाधार निर्माण गर्दा हरियालीयुक्त प्रणाली अपनाए करमा विशेष छुट दिइन्छ। आवतजावतमा पनि प्रायः साइकल, पैदल वा सफा सार्वजनिक यातायात प्रयोग गरिन्छ। विष्णुमती र बागमती नदीका किनार शिवपुरीदेखि चोभारसम्म साइकलप्रेमी, चराप्रेमीहरू जमघट हुने थलो बनेको छ। विगतका १० बर्षमा उपत्यका घेरेका सबै पहाड घना जंगलले भरिएको राष्ट्रिय पार्कमा परिणत गरिएपछि विश्वका अरू राजधानीजस्तो काठमाडौं पानीको समस्याबाट उम्कन सफल भएको छ।
सम्पदा सम्पन्न सहर
बौद्ध, हिन्दु, मुस्लिम, जैन, क्रिस्चियन, सिख आदिका मठमन्दिरले भरिएको काठमाडौंले जनाउछँ कि यहाँका जनताले आध्यात्मको विविधतालाई पनि दह्रो अँगालेका छन्। कला, संस्कृति, संस्कार, धर्मको विविधता र भाइचारालाई जनमानसमा मात्र नभई सहरकै दिगो विकास योजनामै अँगाली काठमाडौंले आफूलाई एक प्रबुद्ध सहरको रूपमा स्थापित गरेको छ। सन् २०१५ को भूकम्पपश्चात् काठमाडौंका जनताले आफूले गुमाएका परिवार र इष्टमित्रका नाममा एउटा स्मारक बनाउने प्रतिबद्धता गरे, जुन अहिले एउटा संस्कार नै बनेको छ। ‘पाहुना भनेकै भगवान्’ भन्ने सोचलाई पनि यस सहरले व्यवहारमा ढालेको छ।
पुनःप्रयोगमा ल्याइराख्ने सहर
म बुङ्मतीको सांस्कृतिक अतिथि बासस्थान (सम्पदा होमस्टे) बाट निस्कन्छु। स्मार्टफोनमा हरियो बत्तीको संकेत देख्छु। त्यहाँ लेखेको कुरा देखेर मेरो अनुहारमा मुस्कान छाउँछ। मैले यो महिनामा आफ्ना खेर गएका सामान पुनःप्रयोग गरी पैसा प्राप्त गरेको रहेछु। मैले प्राप्त गरेको पैसा कहाँ राख्छौ भनेर मलाई फोनमै तीन विकल्प दिइएको छ। १. मेरो बैंकको खातामा। २. मलाई मन पर्ने तीन वटा समाजसेवाको काममा खर्च गर्ने। ३. सरकारको ‘नेपाल निरन्तर निर्माण कोष’मा लगानी गर्ने।
भान्साको कुहिने फोहरबाट जैविक मल बनाई फोहर पानीलाई प्रयोग गराई बगैंचा तथा कौसीमै तरकारी खेती गर्ने प्रचलन फस्टाएको छ। बर्खामा आकाशबाट परेको पानी अनि शिशिरमा शीत संकलन काठमाडौंवासीको पिउने पानीको प्रमुख स्रोत बनेको छ।
कहिल्यै नसुत्ने सहर
साँझ १० बजे एउटा साथीले कीर्तिपुरको आफ्नो घरमा मलाई बोलाउँछ। म लाजिम्पाटको चम्किला बत्ती बलेको सडकमा निस्कन्छु अनि बिस्तारै गल्लीगल्ली हिँड्ने निर्णय गर्छु। नागरिक पुलिसको टोले सन्जालको गस्तीले गर्दा म सुरक्षित महसुस गर्छु। म असनको मुटुमा रहेको रात्रि बजारमा पुग्छु। स्थानीय र पर्यटकबीच रात्रि बजारमा सामानको तोलमोल भइरहेको देख्छु। १२ बजे राति साथीको ढोका ढकढकाउन पुग्छु। भित्र आवाज सुन्दा पार्टी भर्खर सुरु भएजस्तो छ!
सन् २०३० को काठमाडौं दिनमा राम्रो छ भन्ने सोच्नेहरूले रात झनै सुन्दर पाउँछन्। सहरका प्रत्येक कुना सवारी साधनमा ३० मिनेटभित्रै पुगिन्छ। १५ वर्षअघि यस्तो भव्य सहरलाई आठ बजे नै बन्द गर्ने चलनलाई त्यहाँका व्यवसायी र स्थानीय सरकार मिली तोडे। सार्वजनिक सवारी साधन २४ घन्टै चलाउन थालियो।
ऊर्जा प्लस सहर
गोदावरीस्थित आफ्नो कार्यालयबाट घरतर्फ जाँदै गर्दा मोबाइलमा मेरो ब्यांक ब्यालेन्स बढेको नोटिस आउँछ। आफ्नो घरको बढी भएको सौर्य ऊर्जा बेचिएर मलाई अलि बढी पैसा कमाएछु, जसले गर्दा नख्खुको किनारमा भर्खर खोलेको त्यो मनोरम खाजा घरमा चट्ट मेरो परिवारलाई बाहिर खुवाउन लैजान पाउने भएँ!
कसले सोचेको थियो र, १५ वर्षअगाडि दिनमा १२–१४ घन्टासम्म लोडसेडिङ हुने सहर आज सफा ऊर्जाले भरिभराउ सहरको रूपमा परिणत हुन्छ। १२ घन्टासम्म चल्न सक्ने सौर्य ऊर्जा उत्पादन गर्न प्रेरित गर्दै हरेक घरलाई बिजुली उत्पादन गर्ने र बढी ऊर्जा बेच्ने ऊर्जाघरको रूपमा परिणत गरिएको छ। जलवायु परिवर्तनको विषयमा चासो राख्ने यहाँका स्थानीयवासीले निर्णय नै गरेका छन् कि सबै विद्युतीय उपकरणले वातावरण जोगाउने ‘केटिएम २१००’ नियमावली सख्त रूपमा पालना गर्नुपर्नेछ।
मस्त रमाउने सहर
भर्खरै किनेको विश्वविख्यात हात्तीछाप चप्पल च्याट्ट लगाई काठमाडौंमा बरालिँदै हिँड्न कम्ता रमाइलो हुन्न! काठमाडौंका कुनाकाप्चामा पाइने नवीन सृजनाले मन बहलाउँछ सय वर्ष पुराना घरहरूमा अचुक कफी पसल देखिन्छन्।
काठमाडौं मन बहलाउनको लागि जाने ठाउँ बनेको छ। त्यसैले होला काठमाडौंमा विश्वबाटै यात्रीहरू ओइरिरहन्छन्। महिनौंसम्म हराउँछन् अनि मन बहलाई फर्कन्छन्, फेरि यतै फर्कने वाचा गर्दै। उपत्यका वरिपरिका दुई हजार मिटरभन्दा अग्ला हिमाल हेर्दै हराउनेदेखि पौराणिक संस्कृति, संरचना हेर्नका लागि काठमाडौं अविस्मरणीय विश्राम क्षेत्र बनेको छ।
विवेकशील सहर
आज हेर्छु, यो सहर खुल्ला छ। सुरक्षित छ। साझा यातायात ठिक समयमा आउँछ। नरम बोली र मद्दतका भावना बोकेको पाँच वर्षे बालकदेखि ८० वर्षे कपाल फुलेकाले पनि स्वयंसेवक भएर बाटोघाटोमा अरूलाई मद्दत गरेको देख्छु। अस्तिमात्र मेरो साथीको वालेटसहितको झोला ट्याक्सीमा हराएको थियो तर हराएको एकै घन्टामा आफ्नो होटेलमा जस्तातस्तै छाडिदिएका रहेछन्, ट्याक्सी चालकले।
१५ वर्षअघि मात्र म यही सहरमा हिँड्दा बन्दहडताल त परम्परै थियो। नेता भनौंदाले स्थानीय गुन्डाका आडमा ३० लाख बस्ने सहरै ठप्प पारिछाड्थे। काठमाडौंमा जुनसुकै वर्ग, जाति, लिंग, धर्म, उमेर, समुदाय वा देशकाले आफ्नो दैनिकी ढुक्क तरिकाले गर्छन्। हकका साथ जिम्मेवारी बहनलाई सँगै तौलने संस्कार यहाँका कानुनले नजिर बसाएको छ।
उद्यमी राजधानी
सन् २०३० मा काठमाडौंवासीलाई पनि उद्यमशीलताको भूत सवार छ। सन् २०१५ को त्यो विनाशकारी भूकम्पले नेपालका युवालाई खतरनाक परिस्थितिमा पनि काम सफल पार्न ‘जोस र होस’ भएका पुस्तामा परिणत गरिदियो। त्यस बेलाको नेतृत्वलाई युवालाई सशक्त बनाई नवीन काममा लगाएमात्र काठमाडौं जीवित बन्छ भन्ने बोध भयो। टोलटोलमा स्थानीय परामर्श क्लब फस्टाएका छन्, जसले नियमित यहाँका अग्रज र युवाहरूलाई एक ठाउँमा ल्याई सही मार्ग देखाउने काम गर्छन्। स्थानीय प्रतिभाको सिर्जना लगन र सफलतासँग टाँस्सिन देशविदेशका लगानीकर्तादेखि ऋणदाता सबै यही सहरमै खनिएका छन्। नवीनता, प्रतिस्पर्धा र परिवर्तनकै खेल यो सहरको मूल खेल बनेको छ। हरेक परिवारमा उद्यम सुरु गर्नैपर्ने संस्कारले काठमाडौंलाई उद्यमशीलहरूका लागि शक्तिशाली चुम्बक बनेको छ।
परिकल्पनाकार थापा विवेकशील नेपाली पार्टीका अध्यक्ष हुन्।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस