पश्चिम तराईमा गर्मीले हैरानी
नेपालगन्ज/दाङ/भैरहवा/कपिलवस्तु/डडेल्धुरा- जेठ महिना लागेसँगै चढ्न सुरु गरेको तापक्रम नथामिँदा गर्मीले पश्चिम नेपालको जनजीवन अस्तव्यस्त बनिरहेको छ। गर्मीकै कारण स्थानीय दिउँसो बाहिर निस्कन छाडेका छन्। बजारमा चहलपहल घटेको छ।
‘जस्तोसुकै अप्ठेरो परे पनि बिहान ११ बजेपछि र साँझ ५ बजेसम्म घरबाहिर निस्कन सकिँदैन,’ नेपालगन्ज–१ का मोहित अधिकारीले भने, ‘यस्तै गर्मी रहिरहे ज्यान बचाउनै गाह्रो पर्लाजस्तो छ।’ गर्मीले दैनिक मजदुरी गरेर गुजारा चलाउनेलाई झनै समस्या परेको पीडित बताउँछन्। ‘काम छाडौं भोकै मरिएला भन्ने पिर र बाहिर निस्कूँ गर्मीले मरिएला भन्ने चिन्ता छ,’ नेपालगन्जमा रिक्सा चलाउँदै आएका दुर्गा थारु भन्छन्, ‘चाँडै पानी परे केही सहज हुन्थ्यो।’
जल तथा मौसम मापन कार्यालयकी मौसम मापक रीता महतोका अनुसार जेठ महिनाको सुरुआतसँगै गर्मी बढ्न थालेको हो। उनले भनिन्, ‘जेठ ८ देखि अप्रत्याशित बढेको गर्मीले जनजीवन अस्तव्यस्त बनाइरहेको छ।’
गर्मीसँगै तातो हावा चल्दा लु लाग्ने खतरा बढेको स्वास्थ्यकर्मी औंल्याउँछन्। उनीहरूका अनुसार शरीरमा पानीको मात्रा कम हुनेबित्तिकै लुले समाउन सक्छ। यसबाट बच्न प्रशस्त पानी पिउनुपर्छ, चर्को घाममा हिँड्डुल गर्न हुँदैन। टाउको दुख्ने, चक्कर र थकान लाग्ने लुका लक्षण हुन्। दैनिक जीवन चलाउन गर्नुपर्ने काम बिहान, साँझ अथवा घाम छेलिएको स्थानमा मात्र गर्न स्वास्थ्यकर्मीले सुुझाएका छन्।
मौसमविदका अनुसार मनसुन सुरु नहुँदासम्म गर्मी कायमै रहने सम्भावना छ। यो वर्ष मनसुन केही दिन ढिला सुरु हुने पनि उनीहरू बताउँछन्। ‘अरब सागरमा न्यूनचापीय विकास भइरहेकाले मनसुनमा ढिलाइ देखिन्छ,’ मौसमविज्ञ सुवास रिमालले भने, ‘मनसुन सुरु नहुँदासम्म गर्मीको अवस्था भयावह रहिरहन सक्छ।’ सामान्तया नेपालमा १० जुनसम्म मनसुन आइपुग्ने गरे पनि यो वर्ष भारतमा नै मनसुन ढिला सुरु भएकाले यहाँ आइपुग्न अझै केही दिन पर्खनुपर्ने मौसमविदको भनाइ छ। ‘१ जुनमा सुरु हुने भारतको केरलमा ३ दिनअघि मात्र मनसुन सुरु भएको छ,’ रिमालले भने, ‘नेपालसम्म आइपुग्न केही समय लाग्छ।’
जेठ ८ गतेयता नेपालगन्जको तापक्रम ४० डिग्री भन्दा बढी रहँदै आएको छ। मौसम मापक महतोका अनुसार जेठ २० र २३ गते नेपालगन्जको तापक्रम सबभन्दा बढी ४२.६ डिग्री सेल्सियस रह्यो। आइतबारको तापक्रम ४२.५ डिग्री मापन गरिएको महतोले जानकारी दिइन्। गर्मीले जनजीवन अस्तव्यस्त भइरहेका बेला विद्युत प्राधिकरणले पटकपटक लोडसेडिङ गर्दा सर्वसाधारण झनै आजित छन्। भारतबाट आयात गरिएको विद्युत कुन बेला आउने र कुन बेला जाने टुंगो नहुँदा सर्वसाधारण पीडित भएको स्थानीय दिनेश यादवले बताए। भारतबाट ५ मेगावाट विद्युत आयात हुँदै आएको नेपालगन्जबासीले राष्ट्रिय प्रसारणको विद्युत उपभोग गर्न पाएका छैनन्। प्राधिकरणका एक कर्मचारीका अनुसार गर्मीका बेला नेपालगन्जमा १५ मेगावाट विद्युत आवश्यक रहे पनि भारतबाट ५ मेगावाट मात्र आयात गरिएकाले पटकपटक लोडसेडिङ गरिरहनुपर्छ। पङ्खासमेत चलाउन नपाएपछि सर्वसाधारण समस्यामा छन्।
भैरहवा अस्तव्यस्त
गर्मीका कारण भैरहवा तथा आसपासको जनजीवन कष्टकर बनेको छ। यो वर्ष अहिलेसम्मकै बढी तापक्रम शनिबार मापन गरियो। शनिबार ४३.३ डिग्री तापक्रम मापन गरिएको भैरहवामा आइतबार ४२.५ डिग्रीमा झरेको पश्चिमाञ्चल क्षेत्रीय हावापानी फिल्ड कार्यालयले जनायो। हपहपी गर्मी र तातो हावाका कारण रुपन्देही सदरमुकाम भैरहवा, बुटवललगायत आसपास ग्रामीण क्षेत्रको जनजीवन कष्टकर बनेको हो। गर्मी बढेपछि बजारमा चहलपहल निकै घटेको छ। अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन छाडेका छन् । सरकारी कार्यालय सुनसान देखिन्छन्।
बालबालिका तथा वृद्धवृद्धालाई गर्मीले बढी असर गरेको छ। भूकम्पका कारण एक महिनापछि जेठ दोस्रो साताबाट स्कुल जान थालेका विद्यार्थी लगत्तै गर्मी बढ्दा थप मारमा छन्। लोडसेडिङ, लो–भोल्टेजले पनि सर्वसाधारणलाई सताएको छ।
गर्मीकै कारण विभिन्न रोगको संक्रमण बढेपछि अस्पतालमा बिरामीको भिड लाग्न थालेको छ। झाडापखाला, आउँ, ज्वरो, टाइफाइड, तथा जन्डिसका बिरामी बढेको सरकारी तथा निजी अस्पतालले जनाएका छन्। दैनिक एक सयको हाराहारीमा बिरामी आउने भीम अस्पताल भैरहवामा अहिले डेढ सय बिरामी आउने गरेको अस्पतालको सूचना शाखाले जनायो। बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि गर्मीका कारण बिरामीको चाप बढेपछि एउटै बेडमा दुई जना राखेर उपचार गर्नुपर्ने अवस्था आएको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए। बिरामीमध्ये आधाभन्दा धेरै बालबालिका तथा वृद्धवृद्धा रहेको रेग्मीले जानकारी दिए।
मनसुन सुरु हुने बेला परेको खडेरी र चढ्दो गर्मीका कारण जिल्लाका किसानले धानको ब्याड राख्न पाएका छैनन्। खेतबारीमा लगाइएका तरकारी तथा मकै सुकेका छन्। गत वर्ष भैरहवामा सबैभन्दा बढी गर्मी जेठ ७ गते ४२.६ डिग्री मापन गरिएको थियो। त्यसअघि २०५० सालमा सबैभन्दा बढी ४५.२ डिग्री र २०५३ सालमा ४४.८ डिग्री सेल्सियस तापक्रम मापन भएको मौसम शाखाले जनाएको छ।
दाङमा बिरामी बढे
दाङमा गर्मीका कारण हुने बिरामीको संख्या ह्वात्तै बढेको छ। जिल्लाका विभिन्न अस्पतालमा बिरामीको चाप बढेको हो।
घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा बिरामीको संख्या दैनिक बढिरहेको अस्पतालले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. विकास देवकोटाले गर्मीका कारण विभिन्न रोगको संक्रमण बढिरहेको बताए। दैनिक ३ सयको हाराहारीमा बिरामी पुग्ने अस्पतालमा अहिले दिनहुँ चार सय बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन्। ‘ज्वरो, टाउको दुख्ने, रिँगटा लाग्ने, पखालाका बिरामीको संख्या बढिरहेको छ,’ डा. देवकोटाले भने, ‘यसको कारण चर्को गर्मी नै हो।’ शनिबार ३९.२ डिग्री पुगेको दाङको तापक्रम आइतबार पनि उत्तिकै रह्यो।
तुलसीपुर क्षेत्रमा पनि गर्मीपछि बिरामीको संख्या बढिरहेको छ। तुलसीपुरस्थित अञ्चल अस्पतालले दिनहुँ बिरामीको संख्या सयको हाराहारीमा बढेको जनायो। जिल्लाको अति गर्मी हुने देउखुरी क्षेत्रमा पनि बिरामीको संख्या बढेको छ। लमहीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार देउखुरीमा ज्वरो, झाडापखालासँगै सर्पदंशका बिरामी बढेका छन्। केन्द्रका अनुसार औसत ८० बिरामी पुग्ने यहाँ अहिले १ सय ५० को हाराहारीमा आउने गरेका छन्। ‘कहिलेकाहीँ त सर्पदंशका बिरामी दैनिक ३–४ जनासम्म पनि पुगेका हुन्छन्,’ केन्द्रका सूचना अधिकृत रूपनारायण चौधरीले भने, ‘यसबाहेक रुघा, ज्वरो, झाडापखालाका बिरामी निकै बढेका छन्।’
सर्वसाधारण आलसतालस
अत्यधिक गर्मीसँगै चलेको तातो हावाले कपिलवस्तुका सर्वसाधारण आलसतालस छन्। उखरमाउलो गर्मी र लुले जनजीवनमा असर पारेको हो।
दुई दिनयता यहाँको तापक्रम ४३ डिग्रीभन्दा बढी भएपछि जनजीवन अस्तव्यस्त छ। ‘चर्को घाम, बढ्दो गर्मी र तातो हावाले बाँच्नै गाह्रो भयो,’ कपिलवस्तु–४ भिक्षुचोककी प्रज्ञा मरासिनीले भनिन्, ‘गर्मी खप्नै नसकिएला जस्तो छ।’ गर्मी निरन्तर बढिरहेको छ, त्यसमाथि दैनिक ८ घन्टाभन्दा बढी लोडसेडिङ छ। लोडसेडिङ तालिकाभन्दा बढी विद्युत कटौती, अनियमित विद्युत र लो–भोल्टेजले थप मर्का परेको सर्वसाधारण बताउँछन्।
जल तथा मौसम मापन एकाइ रामपुरका अनुसार जिल्लाको अधिकतम तापक्रम लगातार दुई दिनयता ४३ डिग्री नाघेको छ। गर्मी सहन नसकेपछि सर्वसाधारण रूख, छहारी, चौतारी बिसौनीमा बस्ने गरेका छन्। ‘गर्मीले गर्दा न घरमा बस्न मन लाग्छ न अफिसमा काम गर्न सकिन्छ,’ तौलिहवास्थित परिवार नियोजन संघमा कार्यरत रीता कार्कीले भनिन्, ‘रुख तल बस्दा भने केही राहत मिल्छ।’
पहाडमा पनि गर्मी बढ्यो
डडेल्धुरा, अमरगढी नगरपालिका–५ का ८० वर्षीय राजेन्द्रप्रसाद जोशी तराईमा गर्मी बढेपछि चिसो खोज्दै पहाड उक्लिएका थिए। त्यहाँ पनि खपिनसक्नुको गर्मी भएपछि उनी छटपटीमा छन्। ‘पहाडमा यति धेरै गर्मी हुँदा अचम्म लागेको छ,’ जोशीले भने, ‘पहिले–पहिले यस्तो गर्मी तराईका जिल्लामा हुने गर्थ्यो।’ तराईमा गर्मी बढेपछि दोहोरो बसाइँ भएकाहरू गर्मी छल्न पहाड उक्लिने गरेका छन्। मौसम विभागका अनुसार आइतबार अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको छ। आइतबार डडेल्धुराको तापक्रम २९.४ डिग्री सेल्सियस रह्यो। नेपालको ‘नैनिताल ताल’ का रूपमा चिनिएको डडेल्धुरामा गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ। पानी नपरेका कारण गर्मी महसुस गरिएको स्थानीय बताउँछन्। ‘पहाडमा पनि धेरै गर्मी हुन थालेपछि अब कहाँ जाने होला?,’ स्थानीय वीरबहादुर सेटीले भने। विगतमा डडेल्धुराको तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने गरेको थियो। त्यस्तै छिमेकी जिल्ला डोटीको पनि तापक्रम बढेको छ। आइतबार डोटीको तापक्रम ४१.५ डिग्री सेल्सियस रेकर्ड गरियो। डोटीको सदरमुकाम सिलगढीमा गत वर्षभन्दा यसपटक धेरै गर्मी महसुस गरिएको छ। आइतबार धनगढीको तापक्रम ४१.३ डिग्री रह्यो।
प्रतिक्रिया लेख्नुहोस