आन्दोलन चालू छ
‘लाठी फाठा लेके होख तैयार, नेपाल अभी बन्दे बा’ मधेसको आन्दोलन उत्कर्षमा पुगेको बेला रचिएको र रातदिन घन्कने गरेको यो भोजपुरी गीत बीचमा सेलाएको थियो ।
आन्दोलनलाई उठान दिन आन्दोलनकारीहरू जुर्मुराउँछन् तर दशैं, तिहार, छठ र बाली भित्र्याउने, गहुँ छर्ने, सिंचाइ गर्ने बेला परेको, जाडोले मुटुसम्म चिस्याउन थाल्दा र नाकामा कैयौंपटक तस्कर, ट्रक चालकहरूको मार सहँदा हताश हुन्छन् । हुनत हताशा आन्दोलनमा सहभागी नेताहरूले, केहीले त घोषितरूपमैं संविधानसभा–व्यवस्थापिका संसद् नै छोडिसकेको भए तापनि, संविधान जारी भइसकेको अवस्था र त्यसै संविधानको प्रति जलाए तापनि, सरकार बनाउने खेलमा सहभागी भएर आन्दोलनको तेजमा खरानी छर्ने काम गरेकोले फेरि धर्मराउन थाल्छन् ।
पछिल्लोपटक दिल्ली दौडाहाबाट फर्केपछि आन्दोलनले उठान लिन नसकेको चाहिं प्रस्ट हो । यद्यपि यस अवधिमा पनि मधेसी जनताले ज्यान (रौतहटमा) दिएकै हो । अब रेकर्डमा बज्ने ‘लाठी फाठा…’ले पनि आन्दोलनलाई उकास्न नसकेको देखिन थालेको छ ।
नेता लोभीपापी भयो भने कार्यकर्ता वा अनुसरणकर्ताको नैतिक शक्ति च्युत हुन्छ । आज देखिएको परिदृश्य त्यस्तै छ । मधेस आन्दोलनको रापले सरकारलाई गलाउन थालेको बेला नेताहरूको अतार्किक गतिविधिले यो अवस्था आइलागेको हो ।
आन्दोलन स्वयं यति शक्तिशाली बन्दै गएको थियो कि आफ्नै भरमा सरकारलाई घुँडा टेकाउने अवस्थामा पुगिसकेको थियो । तर आन्दोलनको श्रेय अरूलाई दिन खोज्दा जनतामा निराशा देखिन थालेको हो । निश्चय पनि आन्दोलनमा रहेका मधेसी नेताहरू आफ्नै विवेकले सरकार बनाउने खेलमा संलग्न भएका होइनन् ।
निश्चय नै आन्दोलन कमजोर भएर दिल्ली दौडाहामा गएका पनि होइनन् । राजनीतिले लामो कुरा सोच्छ भन्ने प्रमाणित गर्न दिल्ली पुगेका हुन् । आन्दोलन एक न एक दिन सकिन्छ, त्यसपछि हुने खेल त सत्ताको लागि हो । आन्दोलनको सिँढी टेकेर भोलिको सत्ताको ग्यारेन्टी लिनका लागि दिल्ली दौडाहा भएको हो । यसबाट सरकारले आरोप लगाउनु र मधेसी नेताहरू दिल्ली दौडाहामा जानुले ‘स्याल कराउनु कुखुरा हराउनु’ उक्ति चरितार्थ भएको छ ।
मधेसमा आन्दोलन मत्थर हुँदैछ, आन्दोलनले घुँडा टेक्दैछ भनेर सन्तोष गर्नु चाहिं आत्मरतिमा रल्लिनु मात्र हो । मधेस आन्दोलन नेपाली जनताकै (त्यो मधेसी मात्रै किन नहोस्) आन्दोलन हो, जसको सम्बोधन अनिवार्य हुनुपर्दछ । अन्यथा देशमा विग्रह उत्पन्न हुन्छ । आन्दोलन असफल हुनु ठूलो कुरा होइन, तर मधेसी जनताको मनमा यसले जुन तुस छोड्छ त्यो जोखिमपूर्ण हुन्छ । त्यसले देशलाई सधैं पिरोलिरहन्छ ।
राजनीतिज्ञहरूका लागि यो फलानो व्यक्ति वा पार्टीको आन्दोलन होला, आन्दोलन असफल हुनु तिनको पराजय ठानिएला तर यस आन्दोलनमा मधेसमा बस्ने सबै जातजाति, तह र तप्काको समर्थन रहेको छ, पूर्ण वा आंशिक नै किन नहोस् । तसर्थ नैतिकताको आधारमा यो सम्पूर्ण नेपालीको आन्दोलन हो, जसको उचित सम्बोधन सम्पूर्ण देशको चाहना हुनुपर्दछ ।
सरकारले पनि यसै दृष्टिकोणबाट आन्दोलनलाई बुझ्नुपर्दछ । आन्दोलन हार्यो भने नेता वा पार्टी हार्दैन, उसको अनुहार त देखिइ नै सकेको छ, जनता हार्छ । जनता हार्नुहुँदैन । विजित जनताले स्वार्थी नेताहरूको हुर्मत पहिले पनि लिएको छ र भोलि पनि लिनेछ । यो जनधर्म हो, युगको आवश्यकता हो ।
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस