अब ढुक्क हुने त ?
नेपाल विश्वमा नै जलस्रोतका लागि दोस्रो धनी राष्ट्र हो । यस देशमा पानी फालाफाल छ । यो अर्को कुरा हो, पानी फालाफाल भएको मुलुकमा खानको लागि पानीको अकाल छ, खेर गइरहेको पानीलाई विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिएको छैन । लामो समयदेखि नेपालीले सुन्दै आएको कुरा हो, हामी विद्युत् उत्पादन गरेर भारतलाई बेचेर मात्र धनी हुन सक्छौं । केटाकेटीमा यो कुरा सुनेको नेपाली नागरिक आज प्रौढ भइसकेको छ, तर विद्युत् बेच्नु त परको कुरा, आफ्नै उपभोगका लागि उत्पादन गर्न सकेको छैन । कुरो यहीं सीमित भए केही थिएन, जसलाई विद्युत् बेच्ने भनिएको छ, उसैसँग नकिनी धर छैन । र यस कुरामा हामी गर्व गर्दछौं । सत्ता सञ्चालकहरू अरूसँग माग्न शरम मान्दैनन्, पाएपछि सङ्कुचित हुँदैदनन् वरन् गर्व नै गर्दछन् । यस्तै गर्व गर्ने कुरा अहिले भएको छ । नेपालले भारतसँग भर्खरै केही मेगावाट बिजुली किनेको छ । धेरै किन्न सक्थ्यो तर ठूलो क्षमताको सबस्टेशन बनाउन सकेन । जब आफैंले उत्पादन गर्ने हुति छैन, किनेकै भरमा बिजुली बाल्नुछ भने ठूलो क्षमताको सबस्टेशन किन बनाएन भन्ने प्रश्न नेपाल सरकारसँग कसले गर्ने ?
भारतलाई आफैं बिजुलीको अभाव छ । आफ्नो अभाव मिचेर पनि उसले नेपाललाई हालको लागि ८० मेगावाट बिजुली दिएको छ । ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनबाट ४०० मेगावाटसम्म बिजुली नेपालले किन्ने कुरा आएको छ । यो कहिले पूरा हुने त्यसको लागि मेलम्ची खानेपानी आयोजनातिर दृष्टिपात गरे पुग्छ । काम नगर्ने मानिसले बढी गफ गर्छ भन्छन् । गफ गर्नमा अहिलेसम्म भएका प्रधानमन्त्रीहरूमा केपी शर्मा ओलीको कुनै दाँजो छैन ।
त्यसैले उनले भनेको एक वर्षमा लोडसेडिङमुक्त बनाउने कुरा हावादारी मान्नेहरूलाई भारतबाट प्राप्त ८० मेगावाटले एउटा धक्का दिएको छ । तर यतिले त हालको लोडसेडिङलाई दुई घण्टा मात्र घटाउन सकिन्छ । बाँकी ? भनिन्छ अजि·रको आहारा दैवले पुर्याउँछन् । ओली भारतबाट फर्केलगत्तै चीन जाने भएका छन् । उनी चीन जानु, वार्ता गर्नु अगावै तिब्बत विद्युत् कम्पनीका प्रमुखले तिब्बत र नेपालबीच विद्युत् प्रसारण लाइन जोड्ने भाषण ठोक्दै नेपालीलाई बिजुली दिने कुरा ओकलिसकेका छन् । यो अलग कुरा हो त्यसका लागि नेपालीले सन् २०२० सम्म पर्खनुपर्नेछ । केही छैन नेपाली शासकहरूले अरू केही नगरे पनि नेपालीलाई धैर्यशील बनाउने काम चाहिं गरेका छन्, चार वर्षको कुरा त हो नि ।
खनिज ऊर्जा जति उपभोग गरिन्छ रित्तिंदै जान्छ । त्यसैले अमेरिकाले आफ्नो खनिजस्रोतको उपयोग नगरेर महँगो तिरेर किन्ने गरेको छ । तर पानी त त्यो ऊर्जा–स्रोत हो, जुन कहिले रित्तिंदैन । यसको उपभोगमा अमेरिकाको नीति अख्तियार गर्नुपर्ने किन ? अर्काकै भरमा बाँच्ने, अरूले दिएकोमा गौरवान्वित हुने, आफूले उद्यम गरेर अरूलाई दिने कुरा पो पुरुषार्थ हो भन्ने कुरा नबुझेसम्म नेपालको भलो कसरी हुन्छ ? भारतले ४०० मेगावाट, तिब्बतबाट थप बिजुली आउने आश भएपछि अब नेपालले विद्युत् उत्पादनमा हातै नहाल्ने ? हुनत नेपालका बुद्धिजीवीहरू आजको युगलाई आत्मनिर्भरताको होइन, अन्तर्निभरताको युग भन्छन् । त्यस्तै बुद्धिजीवीहरूले गर्दा पनि होला सरकारमा बस्नेहरूको गिदीमा बुद्धि छिर्न नसकेको ? यस्ता बुद्धिजीवीहरू स्वयं सरकारमा पुगे अवस्था कस्तो होला ?
-Prateek Daily-
प्रतिक्रिया लेख्नुहोस