Chitwan News

भरतपुर आजबाट हर्न निषेधित क्षेत्र

१ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको रिङरोड क्षेत्र र त्यसका भित्री सडकहरुमा आजबाट हर्न बजाउन निषेध गरिएको छ ।

केन्द्रीय बस टर्मिनल भरतपुर, चौंबीसकोठी, नारायणगढको लायन्सचोक, शहिदचोक, पूल्चोक, नारायणगढ बसपार्कलगायत राजमार्ग क्षेत्रमा हर्न बजाउन आजबाट निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

आकस्मिकबाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको हो । विभिन्न स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका सूचनामूलक बोर्डहरु टाँगिएका छन् । ‘हर्न निषेधित क्षेत्रका चोकचोकमा ट्राफिक प्रहरी बसेका छन्, त्यही जाँच हुन्छ’ ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले भने, ‘चालकहरूमाथि कारवाही गर्नेभन्दा पनि शुरुका केही दिनहरुमा सचेतनालाई नै जोड दिइने छ ।’

ट्राफिक प्रहरी प्रमुख पन्तले काठमाडौं र पोखरामा ‘नो हर्न’ लागू भइसकेको अवस्थामा मेडिकल र शैक्षिक केन्द्रको रुपमा रहेको भरतपुरमा पनि लागू गरिएको बताए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले ट्राफिक प्रहरी र भरतपुर महानगरपालिकाले गर्न लागेको हर्न निषेधित क्षेत्र घोषणा कार्यक्रमलाई यातायातकर्मीहरुले पनि पूर्ण सहयोग गर्ने बताए । विभिन्न स्थानमा छाडा छाडिने पुश चौपाया र जथाभावी बाटो काट्ने क्रमलाई पनि रोक्न सम्वन्धित निकायले पहल गर्नुपर्ने सुवेदीको सुझाव दिए ।

साउन महिना भरी हर्न निषेधको प्रचारात्मक कार्य गरिएको थियो । यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू नहुने ट्राफिक प्रमुख पन्तले जानकारी दिए । सवारीको गम्भीर दुर्घटना हुने गरी खतरा भएमा वा सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइने छ ।

गत वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र आकस्मिक सवारी साधनलाई बाहेक अन्य सवारी साधनमा हर्न निषेध गरिएको छ । यस्तै, साउन १ देखि पोखरामा पनि अति आवश्यकबाहेक अनावश्यक हर्न निषेध भइसकेको छ । निषेधित क्षेत्रमा हर्न बजाउनेलाई पहिलोपटक पाँचसय र दोस्रोपटक एकहजार जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया लेख्नुहोस

Source
Onlinekhabar
Show More

Leave a Reply

Back to top button