Amazing Stories

आठ महीनापछि हिरासतमुक्त भयो कुखुरा

पाकिस्तानको सिन्ध प्रान्तको जिल्ला घोटमीको स्थानीय अदालतले एउटा कुखुरालाई प्रहरी हिरासतबाट मुक्त गरी उसको मालिकलाई हस्तान्तरण गर्न आदेश दिएको छ। सिन्धमा दुर्ईवटा प्रहरी चौकीमा रहेका पाँचवटा कुखुरा प्रहरीको पाहुना भएका छन्, जसमध्ये एउटालाई रिहा गरिएको हो। प्रहरीले कुखुराको भाले लडाइँ खेल भइरहेको बेला छापामारी गरी मानिससहित पाँचवटा कुखुरालाई पनि हिरासतमा लिएको थियो।

घोटमीका स्थानीय जफर मिरानीले सिभिल न्यायाधीशलाई प्रहरी हिरासतमा रहेको भालेलाई रिहा गरेर आफूलाई सुम्पिदिन अपील गरेका थिए। अपीलकर्ताको दाबी छ कि कुनै निजी कामले उनी कराँचीमा थिए, त्यसैले भालेको मालिक भएको दाबी गर्न सकेनन्। अदालतले जफर मिरानीको अपील स्वीकार गरेको छ र प्रहरीलाई आदेश दिएको छ कि भाले उनलाई सुम्पिदिन। प्रहरीले अदालतको आदेश पालना गरेको छ।

प्रहरी चौकीकी इन्चार्ज मुमताज सिरकी भन्छिन्, अभियुक्तहरू जमानतमा रिहा भए तर तर यी कुखुराहरू मुद्दाको सम्पत्तिको हैसियतले प्रहरीकहाँ थिए र जबसम्म अदालतले यसको फैसला गर्दैन, तबसम्म ती कुखुरालाई सकुशल राख्ने जिम्मेवारी थानाको हुन्छ। थानामा ती कुखुरालाई लकअप र मालखानामा राखिएको थिएन। कुखुरालाई खुला ठाउँमा राखिएको थियो र एउटा खुट्टामा डोरीले बाँधिएको थियो। प्रहरीका अनुसार ती कुखुराले हरेक दिन करीब सय किलो बाजरा खान्थ्यो।

प्रहरी चौकीका एक अधिकृतलाई यी कुखुराहरू हेरचाह गर्ने जिम्मेवारी दिइएको छ। यदि कुखुरा बिरामी हुन्थ्यो भने उनीहरूलाई पशुधन विभागका चिकित्सकलाई देखाइन्थ्यो। एक प्रहरीका अनुसार यी भालेलाई बिरालो र कुकुरबाट पनि जोगाउनुपर्ने जिम्मेवारी थियो। किनभने यदि कुखुरालाई नोक्सानी हुन्छ भने अदालतको मानहानि हुन सक्थ्यो।

प्रहरीले केही महीना पहिले यी कुखुरालाई करीब दुई दर्जन व्यक्तिसँगै हिरासतमा लिएको थियो। पक्राउ परेका सबै व्यक्तिलाई जमानतमा रिहा गरिएको थियो तर कसैले पनि यी कुखुराको स्वामित्व दाबी गरेनन्। यी कुखुराहरू एफआइआरमा उल्लेख गरिएका हुनाले मुद्दा सम्पत्तिको रूपमा दर्ता भएका थिए र प्रहरी चौकीमैं राखिए। प्रहरीका अनुसार जब भाले बास्थ्यो, तब उनीहरूलाई निकै समस्या हुन्थ्यो।

कुखुराको लडाइँ पाकिस्तानको ग्रामीण क्षेत्रमा मनपर्ने खेल हो। यसमा भालेको विजयमा शर्त लगाइन्छ। खेलमा कैयौंपटक भालेको मृत्यु पनि हुन्छ। भालेको लडाइँ खेलका शोखिनहरूले निकै जतनका साथ भालेको पालनपोषण गर्छन्, उनीहरूको नाम राख्छन् र तिनीहरूको खानपिनमा विशेष ध्यान दिन्छन्।

पाकिस्तानमा यसलाई एउटा अपराध भनिएको छ, जसमा एक वर्षसम्म सजाय र ५ सय रुपैयाँ जरिवानासम्म लाग्न सक्छ। प्रहरीका अनुसार यदि कुनै गाईवस्तु समातिएमा उनीहरूलाई सरकारी फार्ममा पठाइन्छ तर चरा र कुखुरालाई के गर्ने आधिकारिक आदेश छैन। वकील लाला हसन पठानका अनुसार यस मुद्दामा कानून मौन छ कि यदि पक्षी बरामद भयो भने त्यसलाई के गर्ने ?

पठानका अनुसार सामान्यतया प्रहरीले कहिल्यै पक्षीको केस डायरीमा उल्लेख गर्दैनन्। तसर्थ कुखुरालाई उसको मालिक वा प्रहरी आफैंले प्रयोग गर्न सक्छ। यस्ता कमै मामिलामा छन्, जसमा कुखुरालाई मुद्दाको अंश बनाइएको छ। यस मामिलामा कसैले पनि ती भाले आफ्नो भएको दाबेदारी गरेनन्, न त प्रहरीले नै कुखुराको प्रयोग ग–यो। प्रहरीले पक्राउ परेका कुखुराहरूलाई मुद्दाको अंश बताएकोले यो जटिलता पैदा भएको हो। –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया लेख्नुहोस

Show More

Related Articles

Back to top button